राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन कार्यतालिका सार्वजनिक
काठमाडौं,२८ फागुन । संघीय संसद् सचिवालयले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सचिवालयले आइतबार कार्यतालिका सार्वजनिक गर्दै सोमबार प्रस्तावको सूचना दिने कार्यक्रम तय गरेको छ । मंगलबार राष्ट्रिय सभाको अध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।
संघीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ देखि दिउँसो १ बजेसम्म प्रस्तावको सूचना दिने कार्यक्रम तय गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । आज साढे १ बजे दर्ता भएका प्रस्तावको सूचना प्रकाशित गर्ने र २९ गते दर्ता भएका प्रस्तावमा एक भन्दा बढी उम्मेदवार भएमा निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसका लागि राष्ट्रिय सभाको बैठक बिहान ११ बजेर ९ मिनेटमा तय भएको छ ।
सत्ता समीकरण फेरिएसँगै राष्ट्रिय सभा अध्यक्ष पदमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र आमनेसामने हुने भएका छन् । नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । उता नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस