अनशन तोडेर छलफलमा अभियान्ता

रुसी सेनामा आबद्ध नेपालीलाई फर्काउन प्रधानमन्त्री सकारात्मक

२६ वैशाख २०८१, मंगलबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फर्काउने विषयमा सरकारले चासोका साथ अघि बढ्ने आश्वासन दिएका छन् । आमरण अनसनमा रहेका रुसी सेनामा आबद्ध नेपालीका पीडित परिवारसँग मंगलबार बालुवाटारमा भेट गर्दै प्रधानमन्त्रीले नेपालीको उद्धारका लागि सरकारले उच्चस्तरको पहल गर्ने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डका जनसम्पर्क विज्ञ बुद्धि जिसीका अनुसार प्रधानमन्त्रीले पीडित पक्षका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेसँगै अनशनकारीहरुले अनशन तोडेका छन् । ‘सोही प्रतिबद्धताअनुसार प्रधानमन्त्री प्रचण्डले ती परिवारका सदस्यसँगको भेटमा उच्चस्तरीय पहल गरेर युद्धमा रहेका नेपाली स्वदेश फिर्ता ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ’, जिसीले भने ।

नेपाली नागरिकको जीवन रक्षाका लागि सरकार निरन्तर लागिपरेको उल्लेख गर्दै रुसी सेनामा कार्यरत नेपालीहरूका परिवारको माग सम्बोधन गर्न प्रधानमन्त्री प्रतिबद्ध रहेको जिसीले बताए । ‘उच्चस्तरको कूटनीतिक पहल हुन्छ, म आफैले थप पहल गर्छु,’ प्रधानमन्त्रीको भनाई उध्रित गर्दै जिसीले भने ।

युद्ध मैदानमा रहेका नेपालीहरूसँग आफूले फोनमा कुरा भएको उल्लेख गर्दै प्रधानमन्त्रीले उनीहरूको अवस्थाबारे कूटनीतिक च्यानलमा निरन्तर छलफल गरिरहेको समेत बताएका छन् । प्रधानमन्त्रीको आश्वासनसंगै रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका अभियान्ताहरुले १७ दिन लामो अनशन तोडेका हुन ।

‘पटक पटक सरकारको ध्यानाकर्षण गर्दा समेत सरकार पक्षले बेवास्ता गर्दै आएकाले हामी अनशन बस्न बाध्य भएका थियौं’, रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका अभियान्ता कृतु भण्डारीले भनिन–‘तर, १७ दिन लामो अनशन पश्चात प्रधानमन्त्रीले चासोका साथ बोलाएर तपाईंहरूको माग सम्बोधन गर्न प्रधानमन्त्री कार्यालय प्रतिबद्ध छ भन्नुभयो, हामीले पनि अनशन तोड्यौं ।’ रुसी सेनामा आबद्ध नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउन उच्च स्तरमा कूटनीतिक पहल गर्नेे विषयमा प्रधानमन्त्रीले सकारात्मक आश्वासन दिएकोे भण्डारीले बताइन् ।

 

मंगलबार नै आफ्ना १३ बुँदे माग समेत प्रधानमन्त्री दाहालसमक्ष बुझाएको उनको भनाई छ । पिडित परिवारसागको छलफल पश्चात प्रधानमन्त्री कार्यालय सिंह दरबारमा पुगेर प्रधानमन्त्रीलाई माग पत्र बुझाएका हुन् । हालसम्म रुसमा कार्यरत रहेकामध्ये ६ सय २० भन्दा धेरै व्यक्तिको विवरण अभियान कर्मीले संकलन गरेका छन  ।

जसमध्ये ३९ जना मृतक, १८ जना मृत्यु भएको भनिएका, तर पुष्टि हुन बाँकी, पाँच जना युक्रेनको कब्जामा, ११७ जना घाइते तथा २७२ जना सम्पर्कविहीन छन् । रुसी सेनामा करार सम्झौता रद्द गरेका नौ जना, रुसी राहदानीका लागि आवेदन दिएका ११ जना, रुसी राहदानी नलिने कागजातमा हस्ताक्षर गरेका १९ जना र बाँकी व्यक्ति सम्पर्कमा छन् ।