महान्यायाधिवक्ताको गृहमन्त्री चोख्याउने पत्र

धनकुटा एफ. एम.
२६ वैशाख २०८१, मंगलबार

काठमाडौं । महान्यायाधिवक्ता दिनमणी पोखरेलले गृहमन्त्री रवि लामिछानेलाई चोख्याउने पत्र पठाएका छन् । रुपन्देही जिल्ला अदालतले सहकारी ठगीमा रवि लामिछानेको संलग्नता रहेको भनीरहँदा महान्यायाधिवक्ता पोखरेलले शक्तिको दुरुपयोग गर्दै यस्तो पत्र पठाएका हुन् ।
महान्यायाधिवक्ताको कार्यालयको चलानी नम्बर ३२७५ को पत्र बैशाख २४ मा गृहमन्त्रीलाई पठाएको थियो । उक्त पत्रमा गृहमन्त्री लामिछानेका नाममा उजुरी जाहेरी, अनुसन्धान तथा अभियोजन समेत नरहेको उल्लेख छ । महान्यायाधिवक्ताको कार्यालयले पठाएको सो पत्रका सन्दर्भमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राज्यसंयन्त्रको दुरुपयोग भएको ठहर गरेको छ ।

‘सरकार राज्यसंयन्त्रको चरम दुरुपयोगमा उत्रिएको छ’, कांग्रेसका प्रमुख सचेतक लेखकले भने –‘रुपन्देही जिल्ला अदालतले सहकारी गठीमा रवि लामिछानेको संलग्नता देखाएको अवस्थामा महान्यायधिवक्ताले सरकारपक्षकै निर्देशन अनुसार उनको संलग्नता नरहेको भन्ने आशयको पत्र गृहमन्त्रीलाई दिनु राज्य संयन्त्रको चरम दुरुपयोग हो ।’

एउटा न्यायलयले अनुसन्धान गर्नुपर्ने दशी प्रमाण पेश गर्दै गर्दा महान्यायाधिवक्ताले यस्तो पत्र दिएर चोख्याउन खोज्नु राज्यशक्तिको दुरुपयोगमा न्यायलयमाथिकै दोहोरो चरित्र देखिएको आरोप लागेको छ । सोही पत्रका आभधारमा गृहमन्त्री लामिछानेले आगामी सदनमा बोल्न पाउ भनी सभामुखलाई निवेदन दिएका छन् ।