जीवन विकासको केन्द्र प्रमुख गोष्ठी सम्पन्न

भोला भट्टराई
४ चैत २०८१, सोमबार

४ चैत्र, २०८१
कानेपोखरी, मोरङ
मोरङको कानेपोखरी स्थित रमाइलोमा जीवन विकास लघुवित्त वितीय संस्थाको शाखाले केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । शाखाको सक्रियतामा संस्थाका विभागीय प्रमुख सुदिप कुमार मण्डलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सन्चालन भएको थियो ।
कानेपोखरी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष खडग वहादुर वस्नेतको विशिष्ट आतिथ्यता र अन्य जनप्रतिनिधिहरु समेतको उपस्थितिमा शाखा प्रमुख जमानसरी राइले स्वागत मन्तव्य राख्दै जीवन विकासका प्रगति प्रतिवेदन प्रश्तुत गर्नुभएको थियो ।

संस्थाका मोरङ जिल्ला इन्चार्ज हेम नारायण राजवंशीले उदघोषकका रुपमा सन्चालन गर्नुभएको कार्यक्रममा उपस्थित सदस्यहरुलाई श्रव्यदृष्य सामाग्री सहितको अभिमुखिकरणमा सहभागी गराइएको थियो । सदस्यहरुका गुनासा र प्रश्नहरुलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुदिप कुमार मण्डलले जीवन विकासको लगानीको व्याजदर २४ प्रतिशतबाट घटदै आएर हाल १५ प्रतिशतमा आउनु सेवाग्राही अनुकूल सुधार भएकोले यो क्रममा अझ परिवर्तन हुन सक्छ भन्ने आशावादी रहन आग्रह गर्नुभएको थियो । जीवन विकासले ऋणी सदस्यहरुको घरमै कर्मचारी पठाएर सबै किसिमका सुविधाहरु प्रवाह गरिरहेको हुँदा कर्मचारी व्यवस्थापन गर्न खर्चिलो हुने भएता पनि सदस्यको सन्तुष्टिका लागि सकेको व्यवस्थापन गर्न निरन्तर काम गरिरहेको वताउनु भएको थियो ।
कार्यक्रममा उत्कृृष्ट वचतकर्ता, उत्कृष्ट वचत केन्द्र र उत्कृष्ट उद्यमी शीर्षकमा छनोट भएका सदस्यहरुलाई प्रथम, दितीय , तृतीय र शान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।

शखा प्रमुख जमानसरी राईका अनुसार २०७०साल भदौमा स्थापना भएको रमाइलो शाखा अन्तर्गत ११७ वटा केन्द्रमा २७०० सदस्यहरु रहेका छन । शाखाले हालसम्म २३ करोड ५४ लाख लगानी गरी ८ करोड ५३ लाख रुपैया वचत गर्न सफल रहेको छ ।

जसको कोही छैन उसको जीवन विकास छ भन्ने नाराका साथ संस्थाले वित्तीय कारोबारका साथै विभिन्न सामाजिक कार्यहरु गर्र्दै आएको छ । स्थापना दिवस, स्वयंसेवक दिवसजस्ता समयमा सरसफाइ, विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण,सुत्केरी भेटघाट कार्यक्रमका साथै सदस्यहरुका घरमा हुने मृत्यु संस्कारका लागि समेत सहयोग गर्दै आएको जीवन विकासले ७० वर्ष मुनिका ऋणी सदस्यको मृत्यु भएमा सम्पूर्ण ऋण मिनाहा गरी रु. १० हजार काजकिरिया खर्चका लागि दिने व्यवस्था गरेको छ ।