लागू औषध ऐन २०३३ लाई समय सापेक्ष बनाइनुपर्छ : प्रहरी महानिरीक्षक दीपक थापा

धनकुटा FM
२ जेठ २०८२, बिहिवार

धनकुटा । प्रहरी महानिरीक्षक दीपक थापाले धनकुटामा पनि लागु औषधजन्य गाँजा खेतीका कारण समस्या आइरहेको बताउनु भएको छ ।

धनकुटा नगरपालिका वडा नं. ६ मा रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाको नविनिर्मित कार्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले त्यसका लागि लागू औषध ऐन २०३३ लाई समय सापेक्ष बनाइनुपर्ने बताउनु भयो । उहाँले लागू औषध दुव्र्यसन नभएको पनि बताउनु भयो ।

प्रहरी महानिरीक्षक थापाले कानुनले दिए अनुसारको काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ । नेपाल प्रहरी सबैको आशा र भरोसाको केन्द्र भएको उल्लेख गर्दै थापाले शिष्ट र सभ्य बोली, वचन एवम् व्यवहारका साथ नागरिकमैत्री र व्यावसायिक प्रहरी सेवा प्रवाहमा केन्द्रित हुन उहाँले निर्देशन दिनुभयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापाले प्रहरी संगठनलाई आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्नेदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा संगठनलाई संस्थागत रूपमा मजबुत र सक्षम बनाउन प्रहरी प्रधान कार्यालय सदैव कटिबद्ध र प्रयासरत रहेको बताउनुभयो । शान्ति सुरक्षा एवम् वस्तुनिष्ठ अपराध अनुसन्धान एवम् नियन्त्रणमा प्रहरीले सबै स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै आएको चर्चा गर्दै समाजमा देखिएका विकृति एवम् विसंगति न्यूनीकरणमा नागरिकसँग हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

सो कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पाख्रेल, जिल्ला समन्व समिति धनकुटाका प्रमुख निरन तामाङ, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास लगायतले शुभकामना दिनु भएको थियो ।

सो कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक शरद कुमार थापा क्षेत्रीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुखहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, जिल्लास्थित राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु, स्थानीय जनप्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरु, स्थानीय समाजसेवी, सञ्चारकर्मी एवम् स्थानीयवासीको उपस्थिति रहेको थियो ।

सो अवसरमा धनकुटा नगरपालिका वडा नं. ४ स्थित सल्लेरीमा रहेको श्रीपञ्चमी पार्कमा रहेका अनाथ बालबालिकालाई शैक्षिक समाग्री समेत वितरण गरिएको छ । कार्यक्रममा जग्गा दातालाई कदर पत्र र उत्कृष्ट प्रहरी कर्मचारीलाई नगदसहित सम्मान गरिएको छ ।