१२ औं संस्करणको रारा गोल्डकप : उपाधी होडमा विर्तामोड युनाइटेड क्लव र एलएक्स सिटी एफसी

धनकुटा एफ. एम.
५ जेठ २०८२, आइतबार

धनकुटा । १२ औं संस्करणको रारा गोल्डकपको उपाधी कब्जाका लागि आज झापाको विर्तामोड युनाइटेड क्लव र मोरङको एलएक्स सिटी एफसी वीच प्रतिस्पर्धा हुने भएको छ ।

शनिबार डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लवलाई सडन डेथमा पराजित गर्दै मोरङको एलएक्स सिटी एफसी राजारानीमा जारी १२ औं संस्करणको रारा गोल्डकपको फाइनलमा प्रवेश गरेसँगै उपाधी हात पार्न विर्तामोड युनाइटेड क्लव र मोरङको एलएक्स सिटी एफसी वीच प्रतिस्पर्धा हुने भएको हो ।

चर्च ब्वाइज युनाइटेड क्लव र मोरङको एलएक्स सिटी एफसी बीचकाृ खेल निर्धारित समय २÷२ गोलको वरावरीमा सकिएपछि खेल सडन डेथमा धकेलिएको थियो । सडन डेथसम्म पुगेको खेलमा एलएक्स सिटी एफसीले चर्च ब्वाइज युनाइटेडलाई ५–४ गोलअन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।

चर्च ब्वाइजका लागि समीर तामाङले दुई तथा एलएक्सका लागि प्रदिप लामा र छिरिङ गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । हिजो सम्पन्न खेलको प्लेयर अफ द म्याच एलएक्स सिटी एफसीका गोलकिपर विवेक मगर घोषित भए । उनलाई साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले नगद ७ हजार पाँच सय रुपैया सहित ट्रफी प्रदान गर्नुभयो ।

विजेताले नगद ७ लाख र उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र प्राप्त गर्नेछ । विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई नगद सहित पुरस्कारको व्यवस्था गरिएको छ । जिल्लाकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता २०५८ सालदेखि हरेक वर्ष संचालन भइरहेको छ ।