सकियो चौथो घरेलु प्रदर्शनी तथा धनकुटा पर्यटन महोत्सव, उद्यमीहरुलाई गरियो सम्मान

धनकुटा FM
७ जेठ २०८२, मंगलबार

धनकुटा । कोशीको गौरव हिमालको शान पर्यटन वर्षमा सबैलाई सम्मान भन्ने नाराका साथ बैशाख २३ गतेदेखि शुरु भएको औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन महोत्सव सकिएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाको आयोजनामा धनकुटाको तल्लो टुढिखेलमा औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन महोत्सवको आज एक कार्यक्रमको आयोजना गरी समापन गरिएको हो ।

सो प्रदर्शनीको समापन कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा पूर्व खानेपानी मन्त्री राजेन्द्रकुमार राईले धनकुटाको विकासका लागि साना उद्योगहरुको विकास र स्थापना जरुरी रहेको बताउनु भयो । आफु खानेपानी मन्त्री भएका वेला विकासका पर्याप्त योजनाहरु ल्याएको बताउँदै पूर्वमन्त्री राईले धनकुटाका महिलाहरुले डोकोमा पानी बोकेर खाने प्रचलनको अन्त्य गर्न पर्याप्त मात्रामा खानेपानीको बजेट जिल्लामा ल्याएको बताउनु भयो ।

सो प्रदर्शनीको समापन कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख सावित्रा राई, धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, सो प्रदर्शनीका संयोजक विजय सन्तोषी राई लगायतले धनकुटामा हुने साना ठूला औद्योगिक महोत्सव र मिनी मेलाहरुले धनकुटामा रहेका साना उद्यमीहरुको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने बताउनु भयो ।

१५ दिन लामो सो महोत्सवमा नगर स्तरीय माध्यमिक विद्यालय वक्तित्वकला प्रतियोगिता, फोटो प्रतियोगिता, लोक सांस्कृतिक प्रतियोगिता आदी प्रतियोगिताहरुको आयोजना गरिएको थियो । ती प्रतियोगिताहरुका विजयीहरुलाई पुरस्कार सहित सम्मान गरिएको छ । त्यसैगरी महोत्सवमा स्टल राख्ने व्यवसायीहरुलाई समेत प्रमाणपत्र वितरण गरिएको थियो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठको सभापतित्वका भएको सो महोत्सवको समापन कार्यक्रमको सञ्चालन महासचिव अम्बिका धमलाले गर्नुभएको थियो भने वरिष्ठ उपाध्यक्ष विष्णुमाया कन्दङ्वाले सहभागीहरुलाई स्वागत गर्नुभएको थियो ।

यसअघि बैशाख २३ गते भएको औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन महोत्सवको कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिह हाङगामले उद्घाटन गर्नुभएको थियो । सो महोत्सवको उद्घाटनमा मन्त्री हाङगामले कोदोको रक्सीलाई ब्रान्डिङ गर्नुपर्ने बताउनु भएको थियो ।