युवा उद्यमी रसाइलीले खोले धनकुटामा हस्तकला व्यवसाय

धनकुटा FM
१८ मंसिर २०८२, बिहिवार

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ९ बेलहरा निवासी सुनील रसाइलीले धनकुटा बजारमा हस्तकलाको पसल सञ्चालनमा ल्याउनु भएको छ ।

२०६७ सालदेखि बेलहरामै हस्तकला उद्योग सञ्चालन गर्दै आउनु भएका रसाइलीले आज धनकुटा नगरपालिका वडा नं. ६ स्थित राष्ट्रिय बाणिज्य बैंक अगाडी हस्तकला उद्योगको पसल सञ्चालनमा ल्याउनु भएको हो ।

सो पसलको उद्योगा बाणिज्य संघ धनकुटाका वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङले रिवन काटेर उद्घाटन गर्नु भयो । सो अवसरमा धनकुटा जिल्ला अस्पतालका डाक्टर पुजन विश्वकर्मा, नेपाल पत्रकार महासंघ धनकुटाका सचिव हरीबहादुर लम्जेल, साहित्यकारहरु मुकुन्द प्रयास, केजी सुब्बा, गोपाल बराइली, वीरबहादुर लामा, योगेश नेवार, कलाकार भुवन डंगोल लगायतको उपस्थिती रहेको थियो ।

लामो समयदेखि काष्टकलाको व्यवसाय सञ्चालन गर्दै आउनु भएका रसाइलीले देशका विभिन्न स्थानहरुमा हुने औद्योगिक प्रदर्शनीहरुमा भाग लिँदै आउनु भएको छ । धनकुटामा हस्तकलाको पसल शुरु गरेपछि काठ तथा बाँसका सामाग्रीहरुको बजारीकरणमा सहज हुने उहाँले बताउनु भयो ।