धनकुटा उद्योग वाणिज्य संघमा त्रिपक्षीय भीडन्त हुने, महासचिवमा कर्माचार्यसहित ७ जना निर्विरोध निर्वाचित

धनकुटा FM
३० साउन २०८३, शनिबार

धनकुटा । आगामी भदौं ६ गते हुने धनकुटा उद्योग वाणिज्य संघको निर्वाचनको लागि उद्यमीहरुले उम्मेदवाी दर्ता गराएका छन् । जसमध्ये केही निर्विरोध निर्वाचित भइरहेको छन् ।

आगामी कार्यसमिति निर्वाचनका लागि ३ जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन आगामी भदौ ६ गते हुँदैछ ।

अध्यक्ष बाहेक अन्य पदमा ३४ जनाको उम्मेदवारी परेकोमा ७ जना निर्विरोध भएका छन् । जसमा महासचिवमा उज्ज्वल कर्माचार्य, वस्तुगत सदस्यतर्फ तुमराज लिम्बू, सफल राई र लिजा श्रेष्ठ, उद्योगतर्फ राजु प्रधान र महिला सदस्यतर्फ गंगा गुरुङ तथा प्रमिसा श्रेष्ठ थापा हुनुहुन्छ । निर्विरोध हुनुभएका सबै अध्यक्षका दावेदार रामबहादुर राया समुहका हुन् ।

गत साउन १६ गते सम्पन्न भएको ४६ औँ साधारण सभा तथा अधिवेशनले निर्वाचन समिति घोषणा गरेसँगै निर्वाचन समितिको बैठकले निर्वाचन मिति भदौ ६ गतेलाई तय गरेको थियो ।

उद्योग वाणिज्य संघ धनकुटामा ४ सय ३२ मतदाता रहेका छन् । निर्वाचनबाट १९ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ । जसअनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र उद्योग सदस्यमा एक–एक जना निर्वाचित हुनेछन् । उपाध्यक्ष पदमा एक महिला सहित तीन जना तथा दुई महिला सहित सात जना सदस्य र वस्तुगत सदस्यमा तीन जना निर्वाचित हुने व्यवस्था रहेको छ ।

निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको नामावली अनुसार अध्यक्ष पदमा कृष्णराज श्रेष्ठ, मनकुमारी तितुङ (तारा) र रामबहादुर रायाले उम्मेदवारी दर्ता गरेका छन् । संघको आगामी ३ वर्ष कार्यकालका लागि अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेसँगै त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । जसमा श्रेष्ठ वर्तमान कार्यसमितिको उपाध्यक्ष, तितुङ वरिष्ठ उपाध्यक्ष र राया कार्यबहाक महासचिब हुनुुहन्छ ।

वरिष्ठ उपाध्यक्ष पदमा अम्बिकादेवी धमला र विक्रम प्रधानले उम्मेदवारी दिएका छन् । त्यस्तै दुई जना उपाध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ । जसमा विष्णुमाया कन्दङ्वा राई, नगेन्द्रप्रसाद काफ्ले, रिदम श्रेष्ठ, सरस्वती मगर र सुनिता पौडेल रहेका छन् । यसैगरि एक जना महिला उपाध्यक्ष पदका लागि निर्मला राई (श्रेष्ठ) र रेजिना पालिखेले उम्मेदवारी दिएका छन् ।

महासचिव पदमा उज्ज्वल कर्माचार्य निर्विरोध हुँदा एक जना सचिव पदको लागि उर्गेन शाक्य र महेन्द्र थापाको उम्मेदवारी परेको छ । एक जना कोषाध्यक्ष पदका लागि प्रविन पोखरेल र रुपेश श्रेष्ठको उम्मेदवारी परेको छ ।

त्यसैगरी खुला सदस्यतर्फ पाँच पदका लागि १४ जनाले उम्मेदवारी दिएका छन् । खुला सदस्यतर्फ इश्वर घिमिरे, कृपवराज जोशी, खिरबहादुर कटुवाल, गोविन्द दाहाल, निरोज श्रेष्ठ, देवबहादुर विश्वकर्मा, देवेन्द्र प्रधान, भैरा राई, विपिन दाहाल, मुनादेवी पोख्रेल, सागर तामाङ, शिशिर श्रेष्ठ, शिवपुजन शाह र शोभा श्रेष्ठ उम्मेदवार रहेका छन् ।