यस्तो छ धनकुटा उद्योग वाणिज्य संघले एक कार्यकालमा गरेका महत्वपूर्ण कार्यहरु
धनकुटा । धनकुटा उद्योग वाणिज्य संघले हालसम्म सम्पन्न गरेका महत्त्वपूर्ण काम तथा उपलब्धिहरू सार्वजनिक गरेको छ ।
धनकुटा उद्योग वाणिज्य संघले आफ्नो ४६औँ वार्षिक साधारणसभा तथा अधिवेशनपछि वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा भएका महत्वपूर्ण कामहरूको पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो ।
व्यवसायीका गुनासा तथा समस्यालाई सम्बन्धित सरकारी निकायसम्म पुर्याई समाधानका लागि निरन्तर पहल गरिएको, बजार क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत बनाउन स्थानीय प्रशासन र सुरक्षा निकायसँग नियमित समन्वय गरिएको तथा व्यवसायीको सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिएको संघको दाबी छ ।
स्थानीय उत्पादनको बजारीकरणका लागि बी–टु–बी बजार प्रवर्द्धन कार्यक्रम, विभिन्न व्यापारिक तथा प्रवर्द्धनात्मक गतिविधि सञ्चालन, कृषि, पर्यटन, उद्योग तथा व्यापार क्षेत्रको विकासका लागि स्थानीय तहदेखि प्रदेश र संघीय सरकारसम्म समन्वय र पैरवी गरिएको पनि पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको थियो ।
संघले विपद् तथा दैवी प्रकोपका बेला प्रभावित व्यवसायी र नागरिकलाई राहत सामग्री वितरण, आवश्यक वस्तुको आपूर्ति व्यवस्थापन तथा मूल्यवृद्धि नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय गरेको जनाएको छ । यस्तै हरियाली प्रवर्द्धन कार्यक्रम सञ्चालन, संघको संस्थागत क्षमता अभिवृद्धि, पूर्वअध्यक्ष तथा अग्रज व्यवसायीको सम्मान, उद्योग–व्यापारमैत्री वातावरण निर्माण र व्यवसायीलाई आवश्यक सूचना तथा परामर्श सेवा विस्तारमा समेत सक्रिय भूमिका खेलेको जनाएको छ ।
संघले कोरोना कालमा ३ सय २७ जना मनकारी घरधनीहरुले घरभाडा छुट दिनुभएकाले मनकारी धनीहरूलाई सम्मान तथा अभिनन्दन गरेको थियो । सो अवधीमा संस्थामा महत्वपूर्ण योगदान दिनुहुने पूर्व अध्यक्षहरु राजेन्द्र बहादुर प्रधान, विनोद प्रधान, नरेन्द्र कार्की, लालचन्द्र गोङ्गवा तामाङ र उमेश घिमिरेका साथै धनकुटामा लगानी गर्ने व्यवसायीहरू र समाजसेवीहरू पूर्व डिआइजी दिनेश अमात्य, रामनारायण प्रसाद राम, डाक्टर खगेन्द्र कटवाल, युवा व्यवसायी भविषेक कर्मचार्य र महिला उद्यमी मनु लिम्बुलाई सम्मान तथा अभिनन्दन गरिएको थियो ।
धनकुटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय सन्तोषी राईले संघले व्यवसायीको हकहित संरक्षण, बजार व्यवस्थापन, करदाता सेवा, उद्योग प्रवर्द्धन तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा उल्लेखनीय पहल गरिएको बताउनु भयो । आफ्नो कार्यकालमा कोरोना लगायतका संकटको अवस्थामा पनि उद्योगी व्यापारी व्यवसायीहरूको हितमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले आफ्नो ज्यान जोखिममा राखेर पनि सेवा प्रदान गरेको उहाँले बताउनुभयो ।
संघले धनकुटामा उत्पादन भएका कृषिजन्य वस्तुहरू हस्तकलाका सामग्रीहरू लगायत धनकुटामा उत्पादन भइरहेका सबै सामग्रीहरूको बजार प्रवर्धन गर्नका लागि धनकुटा महोत्सव, औद्योगिक प्रदर्शनी कार्यक्रम आयोजना गर्नुका साथै दद्दद कार्यक्रमहरू र अभियानहरू व्यापक रुपमा सञ्चालन गरिएको बताउनुभयो। आफ्नो कार्यकालमा धेरै महत्वपूर्ण कार्य हरु गर्नुका साथै व्यापारीहरूको हक हितको लागि प्रशस्त मात्रामा काम गरेको समेत अध्यक्ष राईले बताउनुभयो ।
सो पत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ, उपाध्यक्ष निर्मला श्रेष्ठ, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहरू अम्बिका धमला, रिदम श्रेष्ठ, नवीन श्रेष्ठ ,महेन्द्र थापा, लिजा श्रेष्ठ, देव विश्वकर्मा, उज्ज्वल कर्मचार्य लगायतको उपस्थिती रहेको थियो ।
सो अवसरमानेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष बिदुर खवास, पूर्व अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, पत्रकारहरू रमेशचन्द्र अधिकारी, सन्तवीर लामा, विनोद घिमिरे, हरिबहादुर लम्जेल, नारायण आठपरिया, कविराज घिमिरे, ईश्वर थापा, सन्तोष सुवेदी, विपिन दाहाल, डेविड मगर लगायत सञ्चारकर्मीहरूलाई ढाकाको टोपी तथा मखलर लगाएर सम्मान तथा अभिनन्दन गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस