धनकुटामा पनि फैलियो लम्पी स्किन : ७७ वटा पशूमा देखियो संक्रमण, ४ पशुचौपायको मृत्यु

धनकुटा FM
२४ साउन २०८२, शुक्रवार

धनकुटा । कोशी प्रदेशमा पशुमा लाग्ने ‘लम्पी स्किन’ रोगको संक्रमण तीव्र रुपमा फैलिँदै गएको बेला धनकुटामा पनि यो रोगको संक्रमण बढ्दै गएको छ ।

धनकुटामा जेठ अन्तिम सातादेखि ‘लम्पी स्किन’ रोगको संक्रमम फैलिन शुरु भएको थियो । त्यसयता धनकुटामा ७७ वटा पशुमा लम्पी सिकन रोगको संक्रमण देखिएको छ भने ४ वटा पशु चौपायको मृत्यु भइसकेको छ ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाका पशु विकास अधिकृत दिनेश कार्कीका अनुसार आजसम्म धनकुटामा ७७ वटा पशुमा लम्पी स्किन रोग देखा पर्दा पाख्रिबासमा अहिलेसम्म शुन्य अवस्थामा छ । सबैभन्दा धेरै चौविसे गाउँपालिकामा २६ वटा पशुमा यो रोगको संक्रमण देखिएको भने महालक्ष्मी नगरपालिकामा १७ वटा पशुमा यो रोगको संक्रमण देखिएको छ ।

त्यसैगरी धनकुटा नगरपालिकामा १४, सहिदभुमी गाउँपालिकामा १३, छथरजोरपाटी गाउँपालिकामा ४ र साँगुरीगढी गाउँपालिकामा ३ वटा पशुमा लम्पी स्किन रोगको संक्रमणको देखिएको छ । पाख्रिबास नगरपालिकामा भने अहिलेसम्म यो रोगको संक्रमण देखिएको छैन ।

आजसम्ममा धनकुटा नगरपालिका र साँगुरीगढी गाउँपालिकामा २/२ वटा पशु चौपायको मृत्यु भएको छ ।

धनकुटामा ‘लम्पी स्किन’ फैलिन नदिन भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाले धनकुटामा ‘लम्पी स्किन’ रोगविरुद्धको भाइजर अभियान सञ्चलान गरिरहेको छ ।

धनकुटाका सात वटा स्थानीय तहमा १५ हजार ८ सय खोप पठाइएकोमा हालसम्म १२ हजार १ सय ७५ वटा पशुचौपायलाई खोप लगाइएको भेटेरीनरी अस्पताल तथा विज्ञ केन्द्र धनकुटाका पशु विज्ञ अधिकृत कार्कीले बताउनु भयो ।