कविहरुद्धारा सिर्जना बाचन गरेर धनकुटामा मनाइयो मोतीराम भट्टको १६० औं जयन्ती
धनकुटा । मोतीराम भट्टको १६० औं जयन्तीको अवसरमा धनकुटामा बिशेश कार्यक्रमको आयोजना गरिएको छ ।
गर्गाचार्य सामुदायिक बिश्वभाषा पुस्तकालय धनकुटाको आयोजनामा भएको १६० औं मोति जयन्ती मनाइएको हो ।
पुस्तकालयका अध्यक्ष घनश्यान बरालको सभापतित्वमा भएको सो कार्यक्रममा कविहरु भिम राई, गोपाल बराइली, रमेशचन्द्र अधिकारी, केजी सुब्बा, सन्जय सयल, मुकुन्द प्रयास लगायतको मोतिराम भट्टको चर्चा गर्दै आफ्नो सिर्जनाहरु वाचन गरेका थिए ।
सो कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका संस्थापक अध्यक्ष सन्जय सन्तोषी राई, अग्रज पत्रकार तिलक प्रसाद राई, पुस्तकालयका उपाध्यक्ष रबिन्द्र नेपाली लगायतले भट्टको साहित्यिक यात्राले नेपाली साहित्य गरेको योगदानको चर्चा गरेका थिए । सो कार्यक्रमको सन्चालन कवि तथा पुस्तकालयका महासचिव मुकुन्द प्रयासले गरेको थिए ।
विसं १९२३ साल भाद्रकृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्रकृष्ण औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए ।
नेपाली साहित्यको शृंगार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए । यही छापाखानामार्फत् भट्टले नेपाली भाषाको पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ प्रकाशित गर्नु भएको थियो । तत्कालीन समयमा नेपाली साहित्यमा उहाँले गर्नुभएको योगदान अतुलनीय छ ।
मोतीराम भट्टको जन्म काठमाडौंमा भए पनि यिनका वंशज भने गुमाउगढबाट बसाइँ सरेर आएका थिए । पण्डित दयाराम भट्ट र रिपुमर्दिनी देवीका प्रथम सन्तान जन्मनासाथ दिवङ्गत भएका थिए । त्यसैले माइला सुपुत्रको रूपमा मोतीरामको जन्म भएको थियो । मोतीरामलाई दीर्घजीवी राख्ने हेतुले उनका मातापिताले नाकको दाहिने पोरा छेडिदिएका थिए । तर यही कारणले साथीहरूले केटी छोरी भनेर जिस्काउने गर्दथे । उनी लजालु स्वभावका भएकाले हाँसी मात्र रहन्थे ।
मोतीराम भट्टको पाँच वर्षको उमेरमा अक्षरारम्भ भएको थियो । उनी ६ वर्षको उमेरमा काशी पुगेका थिए । उनको शिक्षाको प्रारम्भिक जग काशीमा नै बस्यो । उनी त्यहाँको फारसी स्कुलमा भर्ना भई फारसी र उर्दू पढ्न थाले । काशीमा पढ्दा पढ्दै उनको भेट भारतीय साहित्यकार भारतेन्दु हरिशचन्द्रसँग भयो । स्मरण रहोस् भारतेन्दु हरिशचन्द्र भारतीय साहित्यका आधुनिक कालका प्रवर्तक मानिन्छन् ।
उनी पनि मोतीराम झैँ ३४ वर्षको उमेरमा अल्पायुमै दिवङ्गत भएका थिए । भारतेन्दु हरिशचन्द्रको प्रभावले मोतीरामले, साहित्यका धेरै विधाहरूसँग परिचित हुने मौका पाए । काशीमा बस्दा विस्तारै संस्कृत र अङ्ग्रेजी पढ्ने अवसर पाई दुवै भाषा दक्ष भए । आठ वर्षको उमेरमा यिनको व्रतबन्ध गरियो । साथै मोतीरामले बनारसमै बस्दा नै गजल गाउन तथा प्रसिद्ध सितारवादक पन्नालालबाट सीतार बजाउन सिके ।
१९३७ सालमा आमा र बहिनीसहित मोतीराम नेपाल फर्किए । १५ वर्षको उमेरमा उनको विवाह भयो । त्यसपछि नेपालमै बसेर संस्कृत र अंङ्ग्रेजी पढ्न थाले । मोतीरामले आइ। ए। सम्मको अध्ययन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस