जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका धनकुटाको चुङमाङका छत्रमान कुथुमी राईको अन्त्येष्टी
जेन–जी समुहले ओढायो राष्ट्रिय झण्डा
धनकुटा । जेन–जी आन्दोलनका क्रममा काठमाडौंमा मृत्यु भएका छत्रमान कुथुमी राईको आज अन्त्येष्टी गरिएको छ ।
धनकुटाको पाख्रीवास नगरपालिका वडा नं. १० चुङमाङका ६४ वर्षीय राईको आन्दोलनका क्रममा भदौ २३ गते मृत्यु भएको थियो । उनको जन्मस्थल पाख्रिबास नगरपालिका वडा नं. १० चुङमाङस्थित घर नजिकै बारीमा किरात संस्कार अनुसार कुथुमीको अन्त्येष्टि गरिएको हो ।
अन्त्येष्टिमा कुथुमीका दुई श्रीमती रामकुमारी र मन्दिरा सहित आफन्तजन उपस्थित थिए । यस्तै, जेन–जी धनकुटाका संयोजक सिरज जोशी लगायतले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
कुथुमीको शव नेपाली सेनाको हेलिकप्टरमार्फत धनकुटा सदरमुकामको सल्लेरीमा रहेको नेपाली सेनाको भीमदल गणमा ल्याइएको थियो ।
परिवारका केहि सदस्यहरू शव ल्याइएकै हेलिकप्टरमा काठमाडौंबाट आएका छन् । गाउँबाट पनि मृतक कुथुमीका आफन्त र छिमेकी ब्यारेकमा आएर उनको शवलाई चुङमाङ लगिएको थियो ।
उहाँको आज सामाजिक परम्परा अनुसार दाहसंस्कार गरिएकोे छ । कुथुमीको पार्थिव शरिरमा जेन जी समुहले धनकुटाको निगालेमा श्रद्धाञ्जली दिएको छ ।
कुथुमी अढाई दशकदेखि काठमाडौंमा बस्दै आएका थिए । आफूलाई राष्ट्रवादी राजनीतिक जनजागरण अभियानमा आबद्ध भएको बताउने कुथुमी जेन–जीले आह्वान गरेको आन्दोलनमा मिसिएका थिए । उनले काठमाडौंमा धामी–झाँक्री र सानोतिनो व्यवसाय गरिरहेका थिए ।दुई श्रीमतीबाट उनका ६ सन्तान छन् । सहारा गुमेपछि यतिबेला कुथुमी परिवार विचलित बनेको छ ।


प्रतिक्रिया दिनुहोस