निर्वाचन प्रहरीको दरखास्त धनकुटाको छिन्ताङ र राजारानीबाट पनि शुरु
४ दिनमा ५ सय ५० जनाले मात्रै दिए आवेदन
धनकुटा । धनकुटा सदरमुकाममा मात्रै निर्वाचन प्रहरीका लागि दरखास्त दिन सकस भएपछि धनकुटाको छिन्ताङ र राजारानीबाट पनि दरखास्त लिन थालिएको छ ।
निर्वाचन प्रहरीका लागि आवेदन दिनैका लागि टाढाटाढाबाट सदरमुकाम आउँदा निक्कै खर्चिलो र आवात जावातमा समेत समस्या हुने देखिए पनि जिल्ला प्रहरी कार्यालय धनकुटाले इलाका प्रहरी कार्यालय राजारानी र इलाका प्रहरी कार्यालय छिन्ताङबाट समेत आवेदन संकलन शुरु गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटा प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीले बताउनुभयो ।
निर्वाचन प्रहरीको लागि आवेदन शुरु गरिएको ४ दिनसम्म पनि आवेदन कम आए पनि राजारानी र छिन्ताङबाट आवेदन लिन शुरु गरेपछि ओवदको संख्या बढ्ने अपेक्षा गरिएको छ ।
सरकारले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि पुस २५ गतेबाटै दरखास्त आह्वान गरेको छ । धनकुटा प्रहरीले सोही दिनबाट निर्वाचन प्रहरीका लागि दरखास्त लिइरहेको छ । तर मंगलबारसम्म ५ सय ५० जनाले मात्रै आवेदन दिएका छन् । जसमा ४ सय २३ जना पुरुष र १ सय २७ जना महिलाले आवेदन दिएका छन् ।
निर्वाचन प्रहरीका लागि माघ १ गतेसम्म दिनभर आवेदन दिन सकिने व्यवस्था छ । धनकुटाका लागि नेपाल प्रहरीतर्फ ९ सय ८९ र शसस्त्र प्रहरीमा ९६ गरी १ हजार ८५ निर्वाचन प्रहरीको कोटा छ ।
माघ ५ गतेदेखि ९ सम्म निर्वाचन प्रहरीको भर्ना छनौट सकेर १२ गते अन्तिम नतिजा प्रकाशन गर्ने तयारी छ भने माघ १५ गतेदेखि प्रशिक्षण सुरु गर्ने कार्यतालिका रहेको छ ।
सरकारले आगामी प्रतिनिधिसभा निर्वाचनमा खटिने निर्वाचन प्रहरीलाई प्रहरी जवानले पाउने सरहको सेवा सुविधा दिएर ४० दिन कार्यक्षेत्रमा खटाउने जनाएको छ । निर्वाचन सुरक्षा प्रहरीले प्रतिदिन ८ सय ६९ रुपैयाँ ४० पैसा पाउँछन् ।


प्रतिक्रिया दिनुहोस