नेपाली कम्युनिष्ट पार्टीले धनकुटाबाट धर्मराज पौडेललाई उम्मेद्वार बनाउने

धनकुटा FM
५ माघ २०८२, सोमबार

धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनकुटाबाट नेपाली कम्युुुुुनिष्ट पार्टी नेकपाले धर्मराज पौडेललाई उम्मेदवार बनाउने भएको छ ।

धनकुटामा बसेको कार्यालय बैठकले यसअघि सिफारीस गरिएका उम्मेदवारहरुसँग गरेको छलफलपछि नेपाली कम्युनिष्ट पार्टीबाट धर्मराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । जिल्लाको कार्यालय बैठकको निर्णय अनुसार अब केन्द्रले पौडेललाई नै टिकट दिनेछ ।

यसअघि जिल्ला कमिटीको बैठकले पौडेलसहित शम्भु राई, टेकनाथ आचार्य, नगेन्द्र गहतराज, विष्णुमाया कन्दङवा र लोकेन्द्र राईको सिफारीस गरेको थियो । तर हिजो बसेको कार्यालयको बैठकले सर्वसम्मत रुपमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

योसँगै धनकुटाबाट धमाधम उम्मेदवारको टुंगो लाग्न थालेको छ । नेकपा एमालेले धनकुटाबाट राजेन्द्र राईलाई उम्मेद्वार बनाउने भएको छ । उम्मेदवारको टुंगो नलगाए पनि नेपाली कांग्रेसबाट दिनेश राईले टिकट पाउने निक्कै बलियो सम्भावना छ । रास्वपाले पनि उम्मेदवार टुंग्याएको छैन । श्रम संस्कृति पार्टीले शानबहादुर राईलाई उम्मेदवार बनाएको छ ।

राप्रपाले विभत्सु थापालाई अघि सारेको छ । जसपा नेपालले अहिलेसम्म उम्मेदवार टुंगो लगाउन सकेको छैन । धनकुटाबाट हेमराज भण्डारी र लाक्पा तामाङले स्वतन्त्र रुपमा उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ । यद्यपि टुंगो लागिसकेको छैन ।