कांग्रेस उम्मेदवार राईद्धारा प्रतिवद्धता पत्र सार्वजनिक, समेटिएन पाख्रिबास-मुगाको बाटो
धनकुटा । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिनेश राई आठपहिरियाले धनकुटाको समग्र रूपान्तरणका लागि आफ्ना प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।
आज धनकुटामा पत्रकार सम्मेलन गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनमा आफ्ना प्रतिवद्धता पत्र सावैजनिक गर्नुभएको हो । ‘धनकुटाको जवानीः धनकुटामै लगानी’ नारासहित व्यवसायिक शहर र उर्वर गाउँ विकास गर्ने योजना राईले प्रस्तुत गर्नुभएको छ ।
धरान–लेउती सुरुङ मार्ग निर्माण र राजारानी खेल मैदानलाई किरण चेम्जोङ अन्तर्राष्ट्रिय रंगशालाको रूपमा विकास गर्ने लक्ष्यसमेत घोषणापत्रमा समावेश छ । उम्मेदवार राईले क्षेत्रीय सन्तुलित विकास, रोजगारी सृजना र कृषि–पर्यटनमा आधारित अर्थतन्त्र सुदृढीकरणलाई प्राथमिकतामा राखिएको छ ।
धनकुटा–हिले–पाख्रीबास–उत्तारपानी–सिंधुवा समेटेर बृहत् नगर निर्माण गर्ने योजना प्रस्तुत गर्दै पर्यटन प्रवर्द्धनका लागि ‘हिमालघर’ निर्माणको पहल गर्ने, कोशी राजमार्गको २५ मिटर मापदण्ड पुनरावलोकन गर्ने तथा प्रत्येक पालिकामा एक–एक रंगशाला निर्माण गर्ने उहाँको संकल्प पत्रमा उल्लेख छ ।
त्यसैगरी, बाँदर तथा जंगली जनावर नियन्त्रण, गाँजा खेती वैधानिकीकरणका लागि पहल, आठपहरिया जातिको सूचीकरण पहलजस्ता कार्यक्रम पनि प्राथमिकतामा राखिएको उनले जनाएका छन्।
धरान–लेउती सुरुङ मार्ग निर्माण, र राजारानी खेल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रंगशालाको रूपमा विकास गर्ने योजना अघि सारिएको छ । तर, उहाँ जिल्लाका सबै वडाहरुमा र अन्य पालिकाका सडकहरु कालोपत्रे योजना अघि सार्दा पाख्रिबास मुगा घोरेटार सडकको विषयमा भने केही उल्लेख गर्नुभएको छैन । उहँले सो विषय छुटेकाले केही दिनमा सच्चिएर आउने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा संबिधानसभा सदस्य मनोहरनारायण श्रेष्ठ, कोशी प्रदेशका पुर्ब आर्थिक मामिला तथा योजना मन्त्री ईन्दिरा थापा, नेपाली कांग्रेसका जिल्ला सचिव विजय सन्तोषी राई, सहसचिव श्रीराम रायमाझी लगायत काङ्ग्रेस नेताहरुको उपस्थिती रहेको थियो ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस