निर्वाचित सांसद् राजेन्द्र राईको चुनावी खर्च २६ लाख ९५ हजार !
धनकुटा । धनकुटाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्र कुमार राईले आफ्नो चुनावी खर्च निर्वाचन आयोगमा विवरण बुझाउनु भएको छ ।
निर्वाचन सम्पन्न भएको ३० दिनभित्र चुनावी खर्च निर्वाचन आयोगमा बुझाउनुपर्ने प्राबधान अनुसार उहाँले आज जिल्ला निर्वाचन कार्यालय धनकुटामा चुनावी खर्च विवरण बुझाउनुभएको हो ।
उहाँले चुनावमा २६ लाख ९५ हजार खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाउनुभएको छ । उहाँले उम्मेदवारी मनोनयन शुल्क १० हजार, मतदाता नामावली खरिद ३ हजार, सवारी–साधन भाडा तथा इन्धनमा ८ लाख ३५ हजार खर्च भएको विवरणमा उल्लेख गर्नुभएको छ ।
यस्तै छपाइ, विद्युतीय माध्यम तथा प्रचार–प्रसारमा ३ लाख ५४ हजार, वडा भेला तथा कार्यकर्ता परिचालनमा ६ लाख ५० हजार, मतदान केन्द्रमा प्रतिनिधि परिचालनमा ४ लाख ८० हजार, कार्यालय सञ्चालनमा ३ लाख १३ हजार र विविधमा ५० हजार खर्च भएको उल्लेख गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस