शनिबार धनकुटामा आँधीहुरी आउन सक्ने, सतर्कता अपनाउन सशस्त्र प्रहरीद्धारा धनकुटामा माइकिङ

धनकुटा FM
६ चैत २०८२, शुक्रवार

धनकुटा । जल तथा मौसम विज्ञान विभागले शनिबार धनकुटा, धरान र विराटनगर लगायतका क्षेत्रमा शक्तिशाली आँधी, असिना र चट्याङको सम्भावना रहेको चेतावनी दिएपछि धनकुटामा स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागले शुक्रबार र शनिबार धनकुटा, धरान र विराटनगर लगायतका क्षेत्रमा शक्तिशाली आँधी, असिना र चट्याङको सम्भावना रहेको जनाउँदै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले शक्तिशाली आँधी, असिना र चट्याङको सम्भावना रहेको सुचना जारी गरेपछि धनकुटामा सतर्कता अपनाउन सशस्त्र प्रहरीले माइकिङ शुरु गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालअन्तर्गत छिन्ताङ गुल्म धनकुटाले जोखिमबारे सर्वसाधारणलाई जानकारी गराउन बजार तथा आसपासका क्षेत्रमा माइकिङ सुरु गरेको छ । गुल्मपति प्रहरी नायब उपरीक्षक प्रेमप्रसाद सिग्देलका अनुसार धनकुटा बजारसँगै मूलघाटस्थित बेस क्याम्पबाट समेत सूचना प्रवाहका लागि टोली परिचालन गरिएको छ ।

आपत्कालीन अवस्थाका लागि सुरक्षा निकायको सम्पर्कमा रहन र आवश्यक नम्बर अद्यावधिक राख्न सशस्त्र प्रहरी नायब उपरीक्षक सिग्देलले आग्रह गर्नुभयो ।

चट्याङ पर्ने सम्भावना भएका बेला खुला ठाउँ, खेतबारी, डाँडा तथा अग्ला स्थानमा नबस्न र एक्लो रुख, बिजुलीको पोल वा टावर नजिक नजान विभागले सुझाव दिएको छ । सम्भव भएसम्म घरभित्र सुरक्षित स्थानमा बस्न तथा विद्युतीय उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ । साथै हावाहुरीको समयमा अनावश्यक रूपमा घरबाहिर ननिस्कन, झ्यालढोका मजबुत राख्न र रुख, होर्डिङ बोर्ड तथा कमजोर संरचनाबाट टाढा रहन अनुरोध गरिएको छ। सवारीसाधन चलाउँदा विशेष सतर्कता अपनाउन चालकलाई सचेत गराइएको छ।

विभागका अनुसार हावाको गति प्रतिघण्टा ११९ किलोमिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ। बदलिँदो मौसम प्रणालीका कारण केही दिनसम्म मेघगर्जनसहित चट्याङ, हावाहुरी तथा मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले विशेष सावधानी आवश्यक रहेको जनाइएको छ । भारी वर्षाका कारण नदी तथा खोलानालामा बाढीको जोखिम बढ्न सक्ने तथा पहाडी क्षेत्रमा पहिरो जान सक्ने भएकाले जोखिमयुक्त स्थानमा नबस्न र अनावश्यक यात्रा नगर्न पनि आग्रह गरिएको छ ।

‘उल्लिखित स्थानमा बसोबास तथा यात्रा गर्ने नागरिकले विशेष सतर्कता अपनाउनु हुन, विशेष काम नपरी यात्रामा ननिस्कनु हुन, हावाहुरी चलेका बेला घरको झ्यालढोका राम्रोसँग बन्द गर्नु हुन, आगोका स्रोत बन्द गर्न, सवारीसाधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भीडभाडमा भए नआत्तिन, भागदौड नगरी विस्तारै सुरक्षित स्थानमा जान प्राधिकरण सबैमा हार्दिक अनुरोध गर्दछ’, प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ।

Screenshot