प्रेस स्वतन्त्रताको पक्षमा धनकुटामा दीप प्रज्वलन, कलमबाट रगत ओकल्न बाध्य नबनाउन आग्रह

धनकुटा FM
२० वैशाख २०८३, आइतबार

धनकुटा । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा धनकुटामा दीप प्रज्वलन गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका पूर्व अध्यक्ष लीला बल्लभ घिमिरेले सेनाको हतियारबाट नडराएको प्रेस अहिलेको सरकारसँग नझुक्ने बताउनु भयो । उहाँले आफ्नो अधिकारका लागि कलमबाट मसी ओकल्दै आएका आम सञ्चारकर्मीहरुले आफ्नो अधिकारकै लागि रगत बगाउने दिन आउन सक्ने भन्दै त्यसले राज्यको दमनकारी नीतिलाई तह लगाउने दावी गर्नुभयो ।

सो कार्यक्रममा राष्ट्रिय समाचार समितिका पूर्व महाप्रबन्धक सिद्धराज राई, महासङ्घ धनकुटा शाखाका संस्थापक संजय सन्तोषी राई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै स्वतन्त्र प्रेसको अस्तित्व कुनै पनि सरकारबाट नामेट पार्न नहुने जिकिर गर्नुभयो । उहाँहरुले पत्रकारमाथि हुने दमन, धम्की तथा प्रेस स्वतन्त्रता विरोधी गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारे ।

प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भएको उल्लेख गर्दै यसमाथि आँच पुर्‍याउने जुनसुकै प्रयासविरुद्ध एकजुट भएर आवाज उठाइने प्रतिबद्धता व्यक्त गरिएको थियो। साथै पत्रकारहरूको पेशागत हकहित र सुरक्षाका लागि आवश्यक परे जुनसुकै सरकारसँग संघर्ष गर्न तयार रहने धारणा राखिएको थियो ।

सो कार्यक्रममा महाहासंघ धनकुटाका अध्यक्ष बिदुर खवासले प्रेस स्वतन्त्रता कुनै सम्झौताका विषय नभएको उल्लेख गर्दै यसमा हस्तक्षेप असह्य हुने बताउनुभयो । उहाँले स्वतन्त्र, निष्पक्ष र उत्तरदायी पत्रकारितामार्फत समाजलाई सुसूचित बनाउने दायित्वप्रति सबै सचेत रहनुपर्नेमा जोड दिनुभयो ।

दीप प्रज्वलन कार्यक्रमसँगै सहभागीहरूले प्रेस स्वतन्त्रताको संरक्षण, पत्रकारहरूको सुरक्षा सुनिश्चितता र लोकतान्त्रिक मूल्यमान्यताको रक्षा गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए ।