नेपाल–भारत मैत्री संघद्धारा धनकुटामा झुल वितरण

धनकुटा FM
२३ वैशाख २०८३, बुधबार

धनकुटा । पहाडी जिल्ला धनकुटामा लामखुट्टेको टोकाईबाट लाग्ने रोगको संक्रमण बढ्न थालेपछि नेपाल–भारत मैत्री संघले धनकुटामा झुल वितरण गरेको छ ।

पछिल्लो समयमा धनकुटा जस्तो पहाडी जिल्लामा समेत लामखुट्टेको टोकाईबाट लाग्ने रोगको संक्रमण बढ्न थालेपछि यसबाट बच्न नेपाल भारत मैत्री संघ धनकुटाले धनकुटा नगरपालिका वडा नं. ४ मा झुल वितरण गरेको हो ।

आज धनकुटा नगरपालिका वडा नं. ४ स्कुलडाडास्थित सामुदायीक भवनमा आयोजित एक कार्यक्रमका बीच नेपाल–भारत मैत्री सङ्घ केन्द्रीय कार्यालयबाट प्राप्त ५० थान तथा दुर्गालक्ष्मी परोपकार संस्थाबाट उपलब्ध ५० थान गरी जम्मा १०० थान झुल वितरण गरेको हो ।

नेपाल भारतमैत्री संघ धनकुटा शाखा सभापति महेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दुर्गालक्ष्मी परोपकार संस्थाकी अध्यक्ष सरस्वती श्रेष्ठले यस प्रकारका सहयोगमूलक कार्यहरू गर्मी मौसममा विशेष उपयोगी हुने उल्लेख गर्दै केही महिनाअघि ब्ल्याङ्केट वितरणजस्ता कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेकोमा नेपाल–भारत मैत्री सङ्घप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

सो कार्यक्रममा सामुदायीक रेडियो प्रशारक संघका केन्द्रिय उपाध्यक्ष गोपाल बराइली, सहिद भीमनारायण स्मृति सङ्ग्रहालयका अध्यक्ष मनोज नारायण श्रेष्ठ, पत्रकार कोकिला भण्डारी लगायतले सामाजिक कामले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै स्थानीयलाई स्वस्थ्य राख्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।

सो कार्यक्रमको सञ्चालन थिरबहादुर थापाले गर्नुभएको थियो भने स्वागत चन्द्रबहादुर श्रेष्ठले गर्नुभएको थियो ।