सहिद भीमनारायण गोल्डकप : बाहिरियो ललितपुर, बेलबारी पुग्यो सेमिफाइनल
धनकुटा । जेठ १० गतेदेखि धनकुटामा जारी सहिद भीमनारायण गोल्डकपको १८औँ संस्करण अन्तर्गत आज भएको खेलमा मोरङको बेलबारी फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ ।
योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघि सिराहाको सलहेश फुटबल क्लब, झापाको बिर्तामोड युनाइटेड क्लब र आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानले अन्तिम चारमा स्थान बनाइसकेका छन् ।
धनकुटाको तल्लो टुँडिखेलमा आज सम्पन्न प्रतिस्पर्धात्मक खेलमा बेलबारीले ललितपुरको सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले हराउँदै बेलबारी फुटबल क्लब अन्तिम चारमा स्थान बनाएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८०औँ मिनेटमा बेलबारीका विदेशी खेलाडी बाबा टुण्डेले गरेको एक मात्र गोल नै जितको आधार बन्यो । सातदोबाटोले खेलमा दबाब कायम राख्दै लगातार आक्रमण गरे पनि बेलबारीका गोलकिपर अजय परियारले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई संकटबाट जोगाएका थिए । आजको खेलमा निर्णायक गोल गरेका बाबा टुण्डे खेलको म्यान अफ द म्याच घोषित भए । उनले नगद ६ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
अब बिहीबार हुने पहिलो सेमिफाइनलमा सलहेश फुटबल क्लब र आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान आमनेसामने हुनेछन् भने शुक्रबार हुने दोस्रो सेमिफाइनलमा बिर्तामोड युनाइटेड क्लब र बेलबारी फुटबल क्लब भिड्ने आयोजकले जानकारी दिएको छ । दुवै सेमिफाइनलका विजेताबीच जेठ १६ गते उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
२०५५ सालमा स्थापना भएको सहिद भीमनारायण गोल्डकप २०६३ सालपछि नियमित रूपमा सञ्चालन हुँदै आएको प्रतियोगिता हो ।


प्रतिक्रिया दिनुहोस