१८ औँ संस्करणको शहीद भीमनारायण गोल्ड कप : आयोजक पुग्यो उपाधी नजिक

धनकुटा FM
१४ जेठ २०८३, बिहिवार

धनकुटा । घरेलु मैदानको फाइदा उठाउँदै शहीद भीमनारायण स्मृति प्रतिष्ठान १८ औँ संस्करणको शहीद भीमनारायण गोल्ड कपको उपाधि नजिक पुगेको छ ।

धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा सिरहाको सलहेश फुटबल क्लबलाई १–० गोलअन्तरले हराउँदै आयोजक टोलीले उपाधि नजिक पुगेको हो ।

आयोजक टोलीको जितमा अमित भेश्राले खेलको १० औं मिनेटमा गरेको गोल नै आयोजकलाई फाइनलसम्म पु¥याउने गोल बन्यो । खेलभर उत्कृष्ट प्रदर्शन गरेका आयोजक टीमका विवेक गुरुङ ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद ६ हजार ५ रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत शुक्रवार झापाको विर्तामोड युनाइटेड क्लव र मोरङको बेलवारी फुटवल क्लबबीच प्रतिस्पर्धा हुने शहीद भीमनारायण गोल्ड कपका संयोजक शम्भु प्रधानले जानकारी दिनुभयो ।

सहिद भीमनारायण स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले ३ लाख रुपैयाँसहित ट्रफी हात पार्नेछ ।

२०५५ सालदेखि सुरु भएको सहिद भीमनारायण गोल्डकप केही वर्ष स्थगित भएपछि २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ । प्रतियोगिता तत्कालीन राजा वीरेन्द्र शाहमाथि बम प्रहार गरेको अभियोगमा २०३५ सालमा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा आयोजना हुँदै आएको हो ।