राहदानी छपाइ तथा खरिद प्रकरण

राष्ट्रिय सभा सदस्य सुनीलबहादुर थापाका छोरा सिद्धार्थ थापा पक्राउ

धनकुटा FM
२ असार २०८३, मंगलबार

धनकुटा । हजुरबुबाको राजनीतिक आडमा मैमत्त रहेका र अरुलाई मान्छे नै नठान्ने सिद्धार्थ थापा राहदानी छपाइ तथा खरिद प्रकरणमा पक्राउ परेका छन् ।

राहदानी छपाइ तथा खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसान्धान आयोगले प्रिन्टिङ कम्पनी ‘भेरिडियस’ का सञ्चालक सिद्धार्थ थापालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

पक्राउ परेका थापा नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद तथा पूर्वमन्त्री सुनिलबहादुर थापाका छोरा हुन् । थापा पनि सादा पोशाकको प्रहरीको नियन्त्रणमा लिएको बताइएको छ ।

हाल राहदानी विभागमा पुरानो कम्पनीसँगको छपाइ सम्झौता अवधि सकिएपछि दुईवटा जर्मन कम्पनीहरू ‘मुलबाउर’ र ‘भेरिडोस’ ले राहदानी छपाइको नयाँ ठेक्का पाएका थियो । सोही नयाँ टेन्डर र खरिद प्रक्रियामा ठूलो आर्थिक चलखेल र अनियमितता भएको उजुरी परेपछि अख्तियारले आफ्नो अनुसन्धानलाई तीव्र बनाएको थियो ।

गत वर्ष थापा संलग्न रहेको ‘भेरिडियस’ ले राहदानी छपाईका लागि ६ अर्ब ११ करोडको ठेक्का पाएको थियो । थापा ‘भेरिडियस’ का नेपाल प्रतिनिधि हुन् । थापालाई सो ठेक्का दिनका लागि तत्कालीन सत्ता साझेदारी गरिरहेका नेपाली कांग्रेस र नेकपा एमालेले पासपोर्ट छपाइको टेन्डरमा पनि भागबन्डा गरेका थिए ।

बोलपत्रमा शृंखलाबद्ध मिलेमतो देखिँदा सत्ता साझेदार दल निकटका ठेकेदार (ठेक्का पाउने जर्मन कम्पनीका नेपाल एजेन्ट) लाई टुक्र्याएर टेन्डरलाई प्याकेज १ र प्याकेज २ बनाइएको थियो । प्याकेज १ को ठेक्का पाउने जर्मन कम्पनी म्युहलबाउर आइडी सर्भिसका नेपालका प्रतिनिधि व्यवसायी मनिन्द्रकुमार मल्ल हुन्  । उनी एमालेनिकट भएर ठेक्कापट्टामा आबद्ध छन्  । उनले पासपोर्टको सिस्टम तयार गर्ने एक अर्ब ५५ करोडको ठेक्का पाएका थिए ।

राहदानी छपाइको मूल ठेक्का भने भेरिडासले पाएको थियो । त्यतिबेला सिद्धार्थ थापाका बुबा सुनीलबहादुर थापा राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार थिए । उनको परराष्ट्रमन्त्री आरजु देउवालगायत कांग्रेस नेताहरूसँग निकटता थियो । त्यसकै आधारमा थापाले ६ अर्ब ११ करोड रुपैयाँमा ठेक्का हात पार्न सपल भएका थिए ।

केही वर्षअघिसम्म धनकुटामा राजनीतिमा सक्रिय बन्ने भनेर लागेका सिद्धार्थ पछिल्लो गुमनाम झैं थिए । उनको राजनीतिक सक्रियता नभएपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी उपसभापति पुष्पा भुषाल संयोजकत्वमा गठित प्रदेश तथा स्थानीय तह निर्वाचन केन्द्रित नेपाली कांग्रेस निर्वाचन व्यूरो सदस्यमा मनोनित गरेका थिए ।