लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस धनकुटामा सम्पन्न

धनकुटा FM
१२ असार २०८३, शुक्रवार

धनकुटा । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस आज धनकुटामा सम्पन्न भएको छ । सो अवसरमा धनकुटामा प्रभातफेरी तथा प्रतिबद्धता पत्रमा हस्ताक्षर कार्यक्रम गरी लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस सम्पन्न गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय धनकुटा र जिल्ला प्रहरी कार्यालय धनकुटाको संयुक्त आयोजनामा भीमनारायण चोकबाट प्रभातफेरि सुरु गरिएको थियो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा ज्यूको नेतृत्वमा प्रभातफेरी गरिएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख निरन तामाङ, धनकुटा नगरपालिकाकी उपप्रमुख भीमादेवी खनाल, सल्लेरीस्थित भीमदल गणका प्रमुख सेनानी गणेश थापा, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक नारायण रञ्जितकार, प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्री, सशस्त्र प्रहरी बल ६ नं. गुल्म छिन्ताङका प्रहरी नायब उपरीक्षक प्रेमराज सिग्देल, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि रामेश्वर बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, स्थानीय जनप्रतिनिधि, नागरिक समाज, विद्यार्थी, अधिकारकर्मी, धनकुटा सहयोगी हातहरु सहित विभिन्न गैरसरकारी संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

सो अवसरमा लागुऔषध दुरुपयोग न्यूनीकरण गर्ने प्रतिबद्धतासहित सामूहिक हस्ताक्षर कार्यक्रम समेत गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।