पत्रकारलाई धम्क्याउने जीतपुरका कार्की ६० हजार धरौटीमा रिहा

धनकुटा FM
१६ असार २०८३, मंगलबार

धनकुटा । समाचार लेखेकै आधारमा धनकुटाका पत्रकारलाई धम्की दिने पर्शुराम कार्की ६० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

असार ४ गते रेडियो धनकुटाको आधिकारिक अनलाईन पोर्टल धनकुटा एफएम डटकममा अख्तियारको डरले मोबाइल अफ गरेर कहाँ फरार भए कांग्रेस नेता सिद्धार्थ थापा ? शिर्षकमा समाचार प्रकाशन भएपछि धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ७ आन्द्रुङ घर भएका कार्कीलाई प्रहरीले गत बुधबार बिहान ५ बजे घरबाटै पक्राउ गरेको थियो ।

लगत्तै जिल्ला प्रहरी कार्यालय धनकुटाले कार्कीलाई जिल्ला अदालत धनकुटाको आदेशमा ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । तर सोमबार जिल्ला अदालत धनकुटाले ६० हजार धरौटीमा रिहा गर्न आदेश दिएपछि सो रकम तिरेर रिहा भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी डिएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो ।

कार्कीले समाचारका विषयलाई लिएर .रेडियो धनकुटा एफएमका अध्यक्ष तथा स्टेसन मेनेजर गोपाल बराइलीमाथि ज्यान मार्ने धम्की दिनुका साथै जातीय गालीगलौजसमेत गरेका थिए । उनले सामाजिक सञ्जालमार्फत् परिवारलाई समेत जोडेर धम्की दिएपछि बराइलीले जिल्ला प्रहरी कार्यालय धनकुटामा जाहेरी दिनुभएको थियो ।

बराइलीलाई कार्कीले सामाजिक सञ्जाल मेसेन्जरमा जातीय रूपमा गाली गर्दै परिवारलाई समेत जोडेर ज्यानको ख्याल गर भन्दै धम्की दिएका थिए । बराइलीले गत असार ४ गते राहदानी छपाइ प्रकरणका विषयमा नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य सुनिलबहादुर थापाका छोरा सिद्धार्थ थापालाई अख्तियारले छानविन गरेको बारेमा समाचार प्रकाशित गर्नुभएको थियो ।

सो समाचार सार्वजनिक भएपछि कार्कीले पत्रकार बराइलीलाई धम्की दिएका थिए । उनले ज्यान मार्ने धम्की दिएपछि बराइलीले नेपाल पत्रकार महासंघ धनकुटालाई जानकारी गराउनुभएको थियो । सो पश्चात् महासंघ धनकुटा शाखा, कोशी प्रदेश समिति, केन्द्रिय समिति, राष्ट्रिय दलित पत्रकार संघ, सामुदायीक रेडियो प्रशारक संघ, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, दलित महिला संघ, धनकुटा लगायतका संघसंस्थाले विज्ञप्ति जारी गर्दै घटनाप्रति ध्यानाकर्षण गराएका थिए ।

नेपाली कांग्रेसका क्षेत्रीय सदस्य समेत रहेका कार्कीले पत्रकारलाई समाचार लेखेकै कारण ज्यान मार्नेसम्मका धम्की दिनु निन्दनीय भएको नेपाल पत्रकारम हासंघ धनकुटाका अध्यक्ष विदुर खवासले बताउनु भयो । उहाँले ६० हजार रुपैयाँ धरौटीमा कार्की रिहा भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरु सचेत हुनुपर्ने पाठ सिक्नुपर्ने धारणा व्यक्त गुर्नभयो ।