धनकुटाको साप्तिङटारबाट ठूलो परिणाममा प्रतिबन्धित लागूऔषधसहित दुई युवक पक्राउ

धनकुटा FM
१६ असार २०८३, मंगलबार

धनकुटा । धनकुटाको साप्तिङटारबाट प्रतिबन्धित लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् ।

सहिदभूमि गाउँपालिका वडा नं. ७ साप्टिङटारस्थित प्रहरी चौकी आँखिसल्लाबाट खटिएको चेकिङ टोलीले दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो ।

गएराति करिब ११ः५५ बजे मुलघाटबाट साप्टिङटारतर्फ जाँदै गरेका प्रदेश १–०२–०५६ प ९४५८ नम्बरको केटीएम ड्युक र को ३६ प ६१७३ नम्बरको पल्सर मोटरसाइकल रोकी जाँच गर्दा सहिदभूमी गाउँपालिका वडा नं. ७ का २३ वर्षीय अजित कार्की र १९ वर्षीय उज्वल राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोलका ३७९ पत्ता (३ हजार ७ सय ९० क्याप्सुल) र डिक्लोमाइनका ३७९ पत्ता (३ हजार ७ सय ९० ट्याब्लेट) बरामद गरिएको छ ।  घटनास्थलबाट प्रहरीले दुईवटा मोटरसाइकल, चारवटा मोबाइल फोनसमेत बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा धनकुटा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।