धनकुटामा संविधानसभा सदस्य अन्जना ताम्लीसहित १९ जनाद्धारा नेपाली कांग्रेस परित्याग 

पार्टीमा आफु दास र लासहरुको कार्यकर्ता बनेर बसिरहन सकिएन : ताम्ली

धनकुटा FM
२० असार २०८३, शनिबार

धनकुटा । धनकुटामा संविधानसभा सदस्यसहित १९ जनाले नेपाली कांग्रेस परित्याग गरेका छन् ।

नेपाली कांग्रेसको तर्फबाट समानुपातिक तर्फबाट दोस्रो संविधानसभा सदस्यसमेत रहनुभएकी नेपाली कांग्रेसका महासमिति सदस्य अञ्जना ताम्लीसहित १९ जनाले नेपाली कांग्रेस परित्याग गरेका हुन् ।

नेपाली कांग्रेसको कन्द्रिय समितिमार्फत् ताम्लीसहित नेपाली कांग्रेस कोशी प्रदेश सदस्य मिना राईले परि पार्टी परित्याग गर्नुभएको छ । उनीहरुले पार्टीमा बसेर काम गर्नेवातावरण नभएको र पछिल्ला समयमा पार्टीमा भएको बैचारिक मतभेदका कारण पार्टी परित्याग गर्न बाध्य भएको नेपाली कांग्रेसको केन्द्रिय समितिलाई लेखिएको पत्रमा उल्लेख गरिएको छ ।

यसरी पार्टी परित्याग गर्नेहरुमा क्षेत्रीय सदस्य युवेन तुम्बा, क्षेत्रीय प्रतिनिधि राजकुमारी राई, क्रियाशील सदस्यहरु भोलामान ताम्ली, कृष्ण लिम्बु, जितबहादुर याख्या, भुपाल तुम्बा, देव ताम्ली, सोनी लिम्बु, टंक ताम्ली, चन्द्रकला तुम्बा, इन्द्र तुम्बा, विष्णु भकत लिंखा रहनु भएको छ । त्यसैगरी प्रविणा तुम्सा, सुजन लिम्बु, धनबहादुर तुम्बा, उदयबहादुर तेयुङ र सुरेन लिम्बुले पनि नेपाली कांग्रे परित्याग गरेको बताइएको छ ।

आफुहरुले पार्टी परित्याग गरेको जानकारी दिँदै संविधानसभा सदस्य अन्जना ताम्लीले लास र दासहरुको पार्टीमा बस्न नसकिने बताउनु भयो । ‘समयको परिवर्तनसँगै पार्टीभित्र म अटाउन सक्दिनँ भन्ने मेरो बुझाई हो’ ताम्लीले रेडियो धनकुटा एफएमसँग कुरा गर्दै भन्नुभयो, ‘अर्काेकुरा मलाई कठिन परिस्थितीमा साथ दिने नेता तथा कार्यकर्ताहरुको पनि पार्टी त्याग्न तीव्र दबाब पनि थियो । साथै पार्टी सभापति गगन थापाकै कुरा अनुसार पनि पार्टीमा आफु दास र लासहरुको कार्यकर्ता बनेर बसिरहन सकिएन ।’

उनीहरुले पार्टीपरित्याग गरे पनि कुन पार्टीमा प्रवेश गर्ने भन्ने केही खुलाएका छैनन् । यद्यपि उनीहरु हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्न सक्ने आँकलन भने गरिएको छ ।