गृहमन्त्री सुधन गुरुङ दिनभर धनकुटामा, निशान मन्दिरको दर्शनदेखि आफन्त भेटघाटमा व्यस्त

धनकुटा FM
२१ असार २०८३, आइतबार

धनकुटा । गृहमन्त्री सुधन गुरुङले धनकुटाको भ्रमण गर्नुभएको छ । भ्रमणका क्रममा गृहमन्त्री गुरुङले जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण गर्दै सुरक्षा व्यवस्था, शान्ति–सुरक्षा तथा प्रहरी सेवाको प्रभावकारिताबारे जानकारी लिनुभयो ।

गृहमन्त्री गुरुङले धनकुटाको ऐतिहासिक निशान भगवती मन्दिरमा पुगेर दर्शन तथा पूजा–आराधना गर्नुभएको छ । स्थानीय धार्मिक तथा ऐतिहासिक महत्व बोकेको मन्दिरमा पूजा गर्दै उहाँले देशमा शान्ति, समृद्धि र नागरिकको सुख–समृद्धिको कामना गर्नुभयो ।

धनकुटा आएर धनकुटा नगरपालिका वडा नं. ६ स्थित ऐतिहासिक निशान मन्दिर परिसरमा आएपछि गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।

त्यसपछि गृहमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालय धनकुटाको निरीक्षण गर्दै मन्त्री गुरुङले प्रशासन कार्यालयमा नागरिकलाई उपलब्ध गराइने सेवाको अवस्था, प्रशासनिक कार्यसम्पादन तथा समग्र सरकारी सेवा प्रवाहबारे जानकारी लिनुका साथै प्रशासनिक संयन्त्रसँग छलफल गर्नुभएको थियो ।

मन्त्री गुरुङले धनकुटा नगरपालिका वडा नं. ५ स्थित पारिवारिक भेटघाट गर्नुभयो । धनकुटामै खाना खाएर उहाँ सुनसरीको धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा)तर्फ प्रस्थान गर्नुभएको छ ।

गृहमन्त्रीको भ्रमणका क्रममा स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुख तथा अन्य सरोकारवाला पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो । मन्त्री गुरुङ शनिबार बेलुका धनकुटाको भेडेटार आएर बास बस्नुभएको थियो । अकस्मात धनकुटा आउनुभएका मन्त्री गुरुङका कारण आइतबार साप्ताहिक बिदाको दिन पनि कर्मचारी, सुरक्षा निकायको दौडधुप बढेको थियो ।