किसानको बारीमै कुहियो मुला, डङडङ गनाउन थाल्यो बारी (फोटो फिचर)
धनकुटा । ‘तरकारीको राजधानी’ का रुपमा परिचित धनकुटाको छथर जोरपाटी गाउँपालिका किसानले उत्पादन गरेको मूला बिक्री नभएपछि खेतबारी मै कुहिन थालेको छ ।
धनकुटाको छथर जोरपाटी गाउँपालिकाका वडा नं. २ जोरपाटी आसपासका किसानले नगदे बालीको रुपमा मुला, बन्दाकोपी लगायतका तरकारी खेती गर्दै आएका छन् । तर पछिल्लो समय किसानले उत्पादन गरेका तरकारीले बजार नपाउँदा किसान समस्यामा पर्न थालेका छन् ।
छथरजोरपाटी गाउँपालिकामा झण्डै ५ हजार घर परिवार व्यवसायीक तरकारी खेतीमा आवद्ध छन् । खासगरी यो क्षेत्रका किसानले उत्पादन गरेको तरकारी मुल्यमा बिक्री नहुँदा बारीमा फ्याँक्न बाध्य भएको किसान किशोर सुब्बाको भनाई छ ।
यो वर्ष मैले झण्डै २५ रोपनी क्षेत्रमा मुला खेती गरे । तर सबै घाटा लाग्यो’ उहाँले भन्नुभयो, ‘अघिल्लो वर्ष सरदर ७ देखि ८ लाख आम्दानी हुन्थ्यो । तर यो वर्ष ४५ हजारको पनि बेच्न पाएका छैनौं ।’
बजारमा उचित मूल्य नपाउँदा सयौं किसानले लगाएको मुला नयाँ बाली लगाउने समय आइसक्दा पनि बिक्री नभएपछि किसानले आफ्नै मेहनतले फलाएको बाली नष्ट गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । तर, यस वर्ष किसानले प्रतिकिलो पाँचदेखि छ रुपैयाँसम्ममा मात्रै मूला बिक्री गर्नुपर्ने अवस्था आएको छ । यही मूल्यमा मल, बीउ, विषादी, सिँचाइ, मजदुरी, ढुवानी र जग्गा तयारीको लागत समेत नउठ्ने किसान अम्बिका सुवेदी बताउनुहुन्छ ।
जति गर्दा पनि किसानलाई घाटा हुने सोही स्थानकी अर्की किसान अम्बिका भट्टराईको भनाई छ । किसानको लगानी उठाउन स्थानीय सरकारले नै बजारीकरण गरिदिए हुन्थ्यो भने उहाँको माग छ ।
मूलाको मूल्य नपाउँदा छथर जोरपाटी गाउँपालिकाका करिब तीन हजार किसान परिवार प्रत्यक्ष प्रभावित भएका छन् । मूलाले उचित मूल्य नपाउँदा गाउँपालिकाका किसानले दुई करोड रुपैयाँभन्दा बढी आर्थिक क्षति बेहोर्नुपरेको छ । यहाँका किसानले उत्पादन गर्ने तरकारीको बजारीकरणका लागि प्रदेश र संघीय सरकारले नीति बनाउनुपर्ने छथरजोरपाटी गाउँपालिका अध्यक्ष छत्र सुब्बा भनाई छ ।
‘यो हाम्रो पालिका कोशी प्रदेशमै सबैभन्दा बढी तरकारी उत्पादन हुने पालिका पनि हो । उत्पादन बढी भएपछि माग घट्न सक्छ । त्यो स्वभाविकै हो’ उहाँले भन्नुभयो, ‘यसलाई पालिकाले मात्रै होइन, राज्यले नै लागेर यसको लामो समयसम्म टिक्ने र बजारसम्म पु¥याउने योजना ल्याउनुपर्छ ।’
कोशी प्रदेशमै तरकारी उत्पादनको ठूलो हिस्सा ओगटेको जोरपाटी, सिधुवा, मजुवा, चुलाचुली, सल्ले, चप्परी चोक, फुत्रुङ डाँडा, गुराँसे, बोक्रे, रोटे आहाललगायत क्षेत्रका कृषकहरू व्यावसायिक मुला खेती गर्दै आएका छन् । उत्पादन बढाउन मात्रै होइन, बिक्री हुने सुनिश्चितता पनि गर्नुपर्ने किसानको माग छ ।








प्रतिक्रिया दिनुहोस