धनकुटाका सांसद राजेन्द्र राई र सभामुख अर्यालबीच संसदमा चल्यो जुहारी
आफ्नो अपमान भएको भन्दै सम्पूर्ण शब्द संसदीय अभिलेखबाट हटाउन सभामुखको निर्देशन
धनकुटा । धनकुटाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद राजेन्द्र राईले आजको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्याललाई अपमान गरेको भन्दै राईले बोलेका सम्पूर्ण शब्द संसदीय अभिलेखबाट हटाउन निर्देशन दिनुभएको छ ।
आजको बैठकमा एमाले सांसद राजेन्द्रकुमार राईले आफ्ना धारणा राख्ने क्रममा ‘सभामुखले कान सुन्नुहुन्छ कि हुन्न’ भनेर प्रश्न गर्नुभएको थियो । त्यसपछि आवेशमा आउनुभएका सभामुख अर्यालले तुरुन्तै सांसद राईलाई बोल्नबाट रोक्नुका साथै माइक काट्न निर्देशन दिनुभएको थियो ।
बोल्न रोकेपछि सभामुख अर्यालले सांसद राईलाई आफ्नो भनाई सच्याएर माफी माग्न भन्दै समय दिनुभएको थियो । तर, राईले आफनो कुरा नै नसुनी सभामुखले गलत व्यवहार गरेको र यसबाट सभामुख अर्यालले पाँच वर्षसम्म संसद् चलाउने ढाँचा नल्याएको भन्दै थप आलोचना गर्नुभयो । सांसद राईको अभिव्यक्तिबाट चित्त दुखाउँदै भामुख अर्यालले त्यसपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित गरिदिनुभएको थियो ।
१५ मिनेटपछि बसेको बैठकमा सभामुख अर्यालले सांसद राईलाई फेरि बोल्न समय दिनुभएको थियो । सांसद राईले यसअघिको अभिव्यक्ति संसद्मा विपक्षी दलका सांसदले उठाएका गम्भीर विषयमा सभामुख र सरकारले वेवास्ता गरेको गुनासो गर्नुभयो ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद राईले सीमानाका विषयमा प्रधानमन्त्री शाहले यसअघि बोलेका कुराको जवाफ दिनका लागि सभामुखले रुलिङ गर्नुपर्ने बताए । ‘१ महिना १५ दिन भयो प्रधानमन्त्री वालेन्द्र शाहले यो रोष्ट्रममा विचार गर्नुभएको । त्यो कुरा असम्बन्धित भयो भनेर प्रतिपक्षले एक स्वरमा कुरा राख्दै आएका छौं,’ राईले भन्नुभयोे, ‘प्रधानमन्त्री वालेन्द्र शाहलाई रुलिङ गर्नुप¥यो, उहाँलाई डाक्नप¥यो ।’
प्रतिनिधिसभा नियमावलीमा गरिएको व्यवस्थाअनुसार प्रधानमन्त्री शाहलाई संसदमा बोलाउनुपर्ने सांसद राईको भनाइ थियो । नियमावलीमा भएको व्यवस्था अनुसार सभामुखले प्रधानमन्त्रीलाई बोलाउनका लागि रुलिङ गर्नुपर्ने राईले बताउनुभयो । उहाँले भन्नुभयोे, ‘यहाँ उठेका कुराहरूको उहाँले जवाफ दिनुपर्छ । सधैभरी हामीले आन्दोलन गर्नुपर्ने हो ? हामीले उठिराख्नुपर्ने हो ? कहिलेसम्म उठ्ने हो ? वालेन्द्र शाहलाई यो रोष्ट्रममा ल्याएर हिजो दिनुभएको विचारका लागि स्पष्ट पार्न भन्न चाहन्छु ।’
बोल्ने क्रममा राईको भाषा आफ्नो अपमान गर्नलक्षित भएको भन्दैसभामुख अर्यालले आफूप्रति लक्षित सांसद राईको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन निर्देशन दिनुभएको हो ।


प्रतिक्रिया दिनुहोस