२४ वर्षदेखि पत्रकारीतामा क्रियाशील धनकुटाका पत्रकार विनोद घिमिरे सम्मानित

धनकुटा FM
२९ असार २०८३, सोमबार

धनकुटा । धनकुटामा बसेर लामो समयदेखि पत्रकारीतामा क्रियाशील धनकुटाका पत्रकार विनोद घिमिरे धनकुटामा सम्मानित हुनुभएको छ ।

धनकुटा नगर कार्यपालिकाको ४४औँ बैठकले पत्रकारिता क्षेत्रमा घिमिरेले पु¥याएको योगदानको कदर गर्दै उत्कृष्ट पत्रकारका रूपमा सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार धनकुटा नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख चिन्तन तामाङ, उपप्रमुख भीमादेवी खनाल र प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले घिमिरेलाई दोसल्ला, नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्दै सम्मान गर्नुभयो ।

विगत २४ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय घिमिरेले समाज विकास, पूर्वाधार निर्माण, पर्यटन, कृषि, खेलकुद तथा सामाजिक विकृति–विसंगतिका विषयलाई निरन्तर प्राथमिकताका साथ उठाउँदै आउनुभएको छ ।

धनकुटा साप्ताहिकबाट पत्रकारीता शुरु गर्नुभएका घिमिरेले धनकुटाबाट कान्तिपुर मिडिया ग्रुपद्धारा सञ्चालित कान्तिपुर दैनिक, कान्तिपुर टेलिभिजन, अनलाइन लगायतका नियमित रुपमा काम गर्दै आउनुभएको छ । स्थानीय तहका विकास निर्माण, सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा समसामयिक विषयलाई प्राथमिकताका साथ समाचारमार्फत उजागर गर्दै आउनुभएका घिमिरे पत्रकारिता क्षेत्रमा सक्रिय रूपमा क्रियाशील हुनुहुन्छ ।

सो कार्यक्रममा नगर प्रमुख तामाङले व्यावसायिक, पारदर्शी र निष्पक्ष पत्रकारितामार्फत समाजमा सही सूचना प्रवाह गर्दै जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएकाले घिमिरेलाई सम्मान गरिएको बताउनुभयो । उहाँले पत्रकारिता माध्यमबाट सुशासन, विकास र उत्तरदायी समाज निर्माणमा घिमिरेले उल्लेखनीय भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो ।