धनकुटाका पत्रकार भन्छन्, सामाजिक सञ्जालमार्फत् पत्रकारहरु माथि हमला भइरहेको छ
धनकुटा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालयको आयोजनामा मानव अधिकारका सवालमा सञ्चारकर्मीसँग छलफल कार्यक्रम धनकुटामा सम्पन्न भएको छ ।
सो कार्यक्रममा सहभागी पत्रकारहरुले पछिल्लो समयमा सामाजिक सञ्जालमार्फत् पत्रकारहरुमाथि हमला भइरहेको भन्दै पहिले भन्दा अहिले पत्रकारीतामा समस्या र जोखिम बढ्दै गएको र मानव अधिकारकर्मीहरुले प्रत्यक्ष नागरिकसँग काम गर्ने हुँदा विभिन्न चुनौती तथा समस्या भोग्नुपर्ने भएकाले समग्र मानव अधिकारको क्षेत्रमा काम गर्ने पत्रकार र मानव अधिकारकर्मीहरुको सुरक्षाको ग्यारेण्टी राज्यले गर्नुपर्नेमा जोड दिएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का धनकुटा प्रतिनिधि इश्वर थापाले सञ्चालन गर्नुभएको सो छलफल कार्यक्रममा इन्सेक प्रदेश प्रमुख मनोहर कुमार पोख्रेल, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, संस्थापक अध्यक्ष सञ्जयसन्तोषी राई, सल्लाहकार रमेशचन्द्र अधिकारी, महासंघका पूर्व केन्द्रिय सदस्य गोपाल बराइली, सल्लाहकार सन्तविर लामा, कोषाध्यक्ष नारायणकुमार राई लगायतले धनकुटामा अन्य जिल्लाको तुलनामा मानव अधिकार हनन्का घटना कम हुने बताउनु भयो ।
सो कार्यक्रममा पत्रकार महासंघ धनकुटाका सचिब हरिबहादुर लम्जेल, सदस्य सन्तोष सुवेदी लगायत धनकुटाका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । सो अवसरमा इन्सेक कोशी प्रदेश प्रमुख पोख्रेलले नेपाल पत्रकार महासंघ धनकुटा शाखालाई नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६, स्थिति सुचक र इन्सेक डायरी हस्तान्तरण गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस