उच्च अदालत विराटनगर धनकुटा इजलासद्धारा ८६.११ प्रतिशत मुद्दा फछ्र्यौट

धनकुटा FM
२ साउन २०८३, शनिबार

धनकुटा । उच्च अदालत विराटनगर धनकुटा इजलासले आर्थिक वर्ष २०८२/०८३ मा ८६ दशमलव ११ प्रतिशत मुद्दाको किनारा लगाएको छ ।

उच्च अदालत विराटनगर धनकुटा इजलास अन्तर्गत सबैभन्दा बढी धनकुटा जिल्ला अदालतले ८६ दशमलव ०३ प्रतिशत मुद्दाको फस्र्याैट गरेको छ भने सबैभन्दा कम संखुवासभा जिल्ला अदालतले जम्मा लगतको ६६ दशमलव ८७ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ ।

गएको आर्थिक वर्ष उच्च अदालत विराटनगर धनकुटा इजलास अन्तर्गतको तेह्रथुम जिल्ला अदालतले ८३ दशमलव ४२ प्रतिशत र भोजपुर जिल्ला अदालतले ८१ दशमलव ३४ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ ।

न्यायपालिकाको पाँचौ पञ्च बर्षीय रणनीतिक योजनाले निर्धारण गरे बमोजिम आ.व. २०८२/०८३ का लागि उच्च अदालत विराटनगर धनकुटा इजलास र मातहतका जिल्ला अदालतहरु धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभा जिल्ला अदालतले आ–आफ्नो तर्फबाट तयार पारेको बार्षिक कार्ययोजना अनुसार कार्यसम्पादनको अवस्था, प्रगति, समस्या, चुनौती, समाधानका उपाय तथा सम्भावना समेतका बारेमा संयुक्त रुपमा समीक्षा गरिएको थियो ।

उच्च अदालत र मातहतका जिल्ला अदालतहरुको आ.व.२०८२/०८३ को बार्षिक समीक्षा कार्यक्रम उच्च अदालत विराटनगर धनकुटा इजलास आयोजित कार्यक्रममा उच्च अदालत विराटनगर धनकुटा इजलासका न्यायाधीश मिना गौतम सेडाई, धनकुटा जिल्ला अदालतका जिल्ला न्यायाधीश हरिश्चधन्द्र ईङ्गनाम र उच्च अदालत विराटनगर धनकुटा इजलासका शाखा अधिकृत दिवेशकुमार श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । यस्तै उच्च अदालत विराटनगर धनकुटा इजलासका कम्प्युटर अपरेटर धनिकलाल ठाकुरलाई निजामती सेवा दिवस २०८२ का अवसरमा सर्वोच्च अदालतबाट प्रदान गरिएको नगद पुरस्कार, सम्मानपत्र र मेडल सोही समारोहमा प्रदान गरिएको थियो ।

उच्च अदालत विराटनगर धनकुटा इजलासका मुख्य भई काम गर्ने न्यायाधीश कृष्णलाल भट्टराईको प्रमुख आतिथ्यता तथा उच्च अदालत विराटनगर धनकुटाका माननीय न्यायाधीश एवं उच्च अदालत योजना तर्जुमा तथा कार्यान्वयन समितिका अध्यक्ष मिना गौतम सेडाईको अध्यक्षतामा उच्च अदालतको सभाहलमा भएको उक्त बार्षिक समीक्षा कार्यक्रममा संखुवासभा जिल्ला अदालतका जिल्ला न्यायाधीश राजकुमार कोइराला, तेह्रथुम जिल्ला अदालतका जिल्ला न्यायाधीश दिलकुमार बर्देवा, उच्च अदालत विराटनगर धनकुटा इजलासका रजिष्ट्रार शोभकर खरेल, धनकुटा जिल्ला अदालतका श्रेस्तेदार ईन्द्रकुमार योङहाङ र भोजपुर जिल्ला अदालतका श्रेस्तेदार ईश्वर भण्डारीले आ–आफ्नो अदालतको आ.व.२०८२/०८३ प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

उच्च अदालत विराटनगर धनकुटा इजलासका शाखा अधिकृत ललितकुमार विकेले संचालन गर्नु भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य इजलास अधिकृत रंजना विश्वकर्माले राख्नु भएको थियो ।