चियासँग कविताको ६३ औं श्रृंखलामा गुन्जिए कवि ध्रुव एलेक्स, साहित्यप्रेमीहरुको जमघटले तातियो धनकुटा

धनकुटा FM
२ साउन २०८३, शनिबार

धनकुटा । पछिल्लो समयमा प्रत्येक शुक्रबार हुँदै आएको चियासँग कविताको ६३ औं श्रृंखला सम्पन्न भएको छ ।

रेडियो धनकुटा एफएमको संयोजनमा २०८१ साल फागनु २ गते शुक्रबारदेखि नियमित रुपमा हुँदै आएको चियासँग कविताको ६२ औं श्रृंखला भने शनिबार हुनथालेको छ । सोही क्रममा साउन महिलाको पहिलो शनिबार पारेर चियासँग कवितामा कवि ध्रुव एलेक्स सम्पन्न भएको छ । सो श्रृंखलामा कवि एलेक्सले आधा दर्जन कविता प्रस्तुत गर्नुभयो ।

सो कार्यक्रममा मोरङकी श्रष्टा नानुमैया दाहाल र तेह्रथुमका श्रष्टा रोशन यात्रीले आफ्ना सिर्जना वाचन गर्नुभयो । त्यसैगरी सर्जक सन्तोष सुवेदी, नव प्रतिभा सरगम पराजुली लगायतले आफ्ना सिर्जना बाचन गर्नुभयो भने ललित विश्वकर्मा र चन्द्रकला धमलाले गीत प्रस्तुत गर्नुभएको थियो । सो ६३ औं श्रृंखलामा दुई दर्जन सर्जकहरुको सहभागीता रहेको थियो ।

रेडियो धनकुटा एफएमको संयोजनमा भइरहेको चियासँग कविता कार्यक्रममा धनकुटामा रहेका साहित्यप्रेमीहरुको बाक्लो जमघट हुँदै आएको छ । साथै नयाँ र पुराना सर्जकहरुले एकै ठाउँमा भेला भएर आफ्ना सिर्जनाहरु प्रस्तुत गर्दै आइरहेका छन् ।

सर्जक रमेशचन्द्र अधिकारीको सभापतित्वमा भएको चियासँग कविताको ६३ औं श्रृङ्खलामा धनकुटा नगरपालिकाका उपप्रमुख भीमादेवी खनाल, छथर साहित्य समाज तेह्रथुमका अध्यक्ष दिनेश थापा, महालक्ष्मी नगरपालिकाको पालिका गानका सर्जक कृष्ण राना मगर, पाख्रिबास साहित्य समाजका अध्यक्ष प्रज्वल पुकार, महिला अधिकारकर्मी सुमना तिमल्सिना लगायतले चियासँग कविता धनकुटामा रहेका सर्जकहरुका लागि आफ्ना सिर्जना पस्किने चौतनरी बताएको बताउनु भयो ।

धनकुटामा २०८१ साल फागुन २ गतेदेखि हरेक शुक्रबार चियासँग कविता हुँदै आएकोमा शुक्रबार कार्यालय समय साँझ ५ बजेसम्म नै खुल्ने भएका कारण सर्जकहरु आउन नसक्ने अवस्था आएपछि शनिबारलाई सारिएको बताइएको छ । साप्ताहिक रुपमा हुँदै आएको चियासँग कविता अब प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार मात्रै हुने चियासँग कविता कार्यक्रमका संयोजक गोपाल बराइलीले जानकारी दिनुभयो ।

चियासँग कविता कार्यक्रममा धनकुटामा रहेर विभिन्न विधामा कलम चलाउँदै आएका नयाँ र पुराना कवि तथा गजलकारहरुले समेत रचना वाचन गर्ने गरेका कारण धनकुटाको साहित्यी बिकासमा इट्टा थप्ने काम भइरहेको चियासँग कविता कार्यक्रमका संयोजक बराइलीले जानकारी दिनुभयो ।