राष्ट्रिय सभाका अध्यक्षसहित पुराना २० सांसद आजबाट विदाइ, नयाँ १९ लाई सोमबार सपथ
काठमाडौं,२० फागुन । राष्ट्रियसभाको ६ वर्षीय कार्यकाल समाप्त भएका राष्ट्रियसभा अध्यक्षसहित २० जना सांसद आजबाट विदा हुँदैछन् । २०७४ सालमा निर्वाचित एमालेबाट अध्यक्षसहित ८, कांग्रेसका चार, माओवादी केन्द्रका तीन, नेकपा एसबाट २, जसपाबाट १, स्वतन्त्र १ र राष्ट्रपतिबाट मनोनीत बिमला राई पौडेल समेतगरी बीव सांसद विदा हुन लागेका हुन् ।
६ वर्ष कार्यकाल बिताएका उनीहरू आजैदेखि बिदा हुने र सामबार नयाँ १९ सांसदहरुले शपथ लिनेछन् भने थप एक जना राष्ट्रपति रामचन्दै पौडेलले मनोनित गर्नुहुनेछ । आइतबार बिदाइ हुनेहरूमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमालेका दीपा गुरुङ, इन्दु कडरिया, दील कुमारी रावल थापा, पार्वती कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राई बिदा हुँदैछन् ।
त्यस्तै कांग्रेसका रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थ बिदा हुँदै छन् भने माओवादीका विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा बिदा हुँदै छन् । यता नेकपा एसबाट नन्दा चपाई र सिंगबहादुर विश्वकर्मा, जसपाबाट प्रमीलाकुमारी, स्वतन्त्र सांसद खिमलाल देवकोटा र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल पनि बिदा हुँदै छन् ।
उनीहरूको ठाउँमा हुने रिक्तता पूर्तिका लागि यसअघि नै माघ ११ मा भएको राष्ट्रियसभाको निर्वाचनबाट १९ सदस्य निर्वाचित भइसकेका छन् । फागुन २१ गते उनीहरूको शपथको कार्यक्रम राखिएको छ भने एकजना सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी छ । संसद् सचिवालयले जारी गरेको सूचना अनुसार संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुको शपथ फागुन २१ गते सोमबार बिहान ११ बजेर ३० मिनेटमा हुनेछ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरको ल्होत्से हलमा शपथ हुने भएकाले नवनिर्वाचित सबै राष्ट्रिय सभा सदस्यहरुलाई उपस्थित हुन अनुरोध गरेको छ ।
२०७४ सालमा नयाँ संविधान जारी भएपछि भएको राष्ट्रियसभाको निर्वाचनबाट ५६ जना सदस्य निर्वाचित भएका थिए भने ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका थिए । निर्वाचनपछि राष्ट्रियसभाका ५९ सदस्यहरूको कार्यअवधी गोला प्रथाबाट निर्धारण गरिएको थियो । उनीहरूको २ वर्ष, ४ वर्ष र ६ वर्ष गरी ३ प्रकारको कार्यकाल तय गरिएको थियो । २ र ४ वर्ष कार्यकाल पूरा गरेकाहरू बिदा भइसकेका छन् भने ६ वर्ष कार्यकालको समय पाएका २० सांसदको आइतबारदेखि बिदाइ हुन लागेको हो ।
उनीहरूको बिदाइका लागि संघीय संसद् सचिवालयले आइतबार साँझ बिदाइ कार्यक्रम राखेको सहप्रवक्ता दशरथ धमलाले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । निर्वाचित भएर आएका सदस्यहरूलाई स्वागत र पदावधि सकिएका सदस्यलाई बिदाइ कार्यक्रम राखिएको उहाँको भनाई छ । बिदाइ हुने राष्ट्रियसभा सदस्यलाई आफ्नो कार्यकालमा संसदमा बोलेका कुराहरूको लिखित दस्तावेजको पुस्तक समेत प्रदान गरिने धमलाले बताउनुभयो ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस