यात्रुवाहक बस त्रिशूलीमा खस्दा चारको मृत्यु ३३ घाईतेको उद्दार (फोटो फिचर)
काठमाडौँ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा चार जनाको मृत्यु भएको छ । कपिलबस्तुबाट ५१ जना यात्रु र चालकदल समेत भएकोबस पृथ्वीराजमार्ग अन्तरगत गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेसीबाट त्रिशुलीनदीमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक तथा सूचनाअधिकारी सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।
आज बिहान ५ बजे गति अनियन्त्रित भई त्रिसुली नदीमा खस्दा चार जनाको मृत्यु भएको हो । नदीमा खसेकामध्ये ३३ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डिएसपीको कमान्डमा खटिएको टोलीले जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको छ ।उक्त स्थानमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमान्डमा ६ जना गोताखोर सहित २० जनाको टोली खटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी नै छ।

दुर्घटनामा १ महिला सहित ४ जनाको शब देखिएको छ । शबको सनाखत भएको छैन भने कति हताहत भयो यकिन विवरण प्राप्त भएको छैन । सडकबाट १ सय मिटर तल त्रिशुली नदीमा छत देखिएको अवस्थामा डुबेको बसका ३५ जना यात्रुको उद्धार गरिएको र सबै घाइतेहरुलाई गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि घाटबेसी बजारबासी, इलाका प्रहरी कार्यालय गजुरी, ससस्त्र प्रहरीले घाइतेहरुको उद्धार गरेको थियो । बसमा कति यात्रु छन् र कति मृत्यु भयो भन्ने बारे डुबेको बसमा खोजि गर्ने ससस्त्र प्रहरीको टोलीले खोजि सुरु गरेको छ ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस