सफल नहुने आयोजना खारेजीको तयारीमा

धनकुटा एफ. एम.
१६ चैत २०८०, बिहिवार

काठमाडौं,१५ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असफल हुने सयौँ आयोजना खारेज गर्ने तयारीमा रहेको बताएका छन् । बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वर्षौ रहेका सफल हुन नसक्ने आयोजनालाई खारेज गरिदिने बताएका छन् ।

बजेट निर्माणको परम्परागत शैली बदल्न सरकार लागिपरेको भन्दै उनले जनतामा आशा जगाउने खालको बजेट बनाउने तयारी रहेको बताए । उनले भने –‘पुराना भएका सबै आयोजनाहरू लाई पनि निरन्तरता दिनैपर्ने, ती साना हुन्, ठुला हुन्, पुरा हुने खालका हुन्, पुरा नहुने खालका हुन्, ७० वर्ष लाग्ने खालका हुन्, ५० वर्ष लाग्ने हुन् । तर पनि धानेर लानै पर्ने । राष्ट्रिय गौरवका आयोजनाहरूलाई पनि सबै लिएर जानैपर्ने अनि सबै मन्त्रालयहरूले नयाँ–नयाँ योजनाहरू पनि थप्नै पर्ने । अनि हरेक वर्षमा जाँदा हामी झन् ठुला आर्थिक सङ्कटमा वा दबाबमा हुने जुन परिस्थिति बनेको छ, मैलै यसअघि क्याबिनेट र संसदमा भनिसकेको छु र आजको राष्ट्रिय विकास समस्या समाधान समितिमा भन्ने कुरा हो यो, अब यो स्थितिलाई हामीले बदल्छौँ ।’

सयौँ त्यस्ता आयोजनाहरू जो सफल हुने वाला नभएको उनको भनाई छ । ‘जो असफल हुने आयोजनाहरु छन् । त्यहाँ १० लाख, २० लाख राख्ने कुरालाई बन्द गरिदिऊँ । सब खारेज गरिदिऊँ तिनलाई । जो सम्पन्न हुन सम्भव छन्, तीनमा बजेट केन्द्रित गरेर छिटो टुंग्याउँ । बाँकी जनतामा आशा जागोस् । कुन चाहिँलाई प्राथमिकता दिने भन्नेबारे र जसले जनतालाई आशा जगाउन सक्छ त्यसबारे ध्यान दिऊँ । जनतामा आशा र परिणाम दिन पनि बजेट निर्माणको परम्परागत शैली बदलौँ’, उनले भने ।