कांग्रेसलाई उम्मेदवार छनौटमै सकस,एमाले रास्वपा मतदातासँग व्यस्त

धनकुटा एफ. एम.
२२ चैत २०८०, बुधबार

काठमाण्डौ,२१ चैत्र । आगामी बैशाख १५ मा हुने उपनिर्वाचनका लागी यही २४ गते मनोनयन गर्नुपर्ने भएपनि संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले उपनिर्वाचनका लागि अझै उम्मेदवारको टुंगो लगाउन सकेको छैन् । बैशाख १५ मा हुने इलाम–२ र बझाङ प्रदेशसभा १ को उपनिर्वाचनको उम्मेदवारको टुंगो लगाउन बुधबार बसेको बैठक पनि कुनै निर्णय नगरी सकिएको हो ।

एमाले रास्वपालगायत दलहरु नागरिकसँग भेटघाट, छलफलमा व्यस्त भइसकेका छन भने कांग्रेसले अझै उम्मेदवार कसलाई बनाउने भन्ने अन्यौलमा अल्झिएको छ । बुधबारको संसदीय बोर्डको बैठकमा सभापति शेरबहादुर देउवाले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउन प्रस्ताव राखे पनि महामन्त्री गगन थापासहितका नेताहरुले विरोध गरेपछि निर्णय हुन नसको हो ।

महामन्त्री थापासहित नेता डा. शेखर कोइरालाले भेषराज आचार्यलाई उम्मेदवार बनाउनुपर्ने बताउदै आएका छन् । अब संसदीय बोर्डको अर्को बैठक बिहीबार बिहान ९ बजे बस्ने भएको छ । २०७९ को मंसिर ४ मा भएको आम निर्वाचनमा सभापति देउवाले प्रस्तावित गरेका डम्बर खड्का एमालेका सुवासचन्द्र नेम्वाङसँग ११४ मत अन्तरले पराजित भएका थिए ।