४० प्रतिशत काम सकिएपछि सरकारले दियो धनकुटा अस्पताललाई रेशम खेतीको जग्गा

धनकुटा FM
२५ कार्तिक २०८२, मंगलबार

धनकुटा । धनकुटा अस्पताल निर्माणका लागि सरकारले बल्ल रेशम खेती कार्यक्रमको जग्गा उपलब्ध गराएको छ ।

आज बसेको मन्त्री परिषदको बैठकले धनकुटा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने गरी धनकुटा नगरपालिका वडा नं. ७ मा रहेको रेशम विकास कार्यक्रम धनकुटाको नाममा रहेको २५ रोपनी ५ आना ३ पैसा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।

कोशी प्रदेश सरकारले २०७८ सालमै १५ शैया क्षमताको धनकुटा अस्पताल स्तरोन्नति गरी एक सय शैयाको बनाउने निर्णय गरेको थियो । सोही अनुसार तर स्तरोन्नतिको निर्णय भए पनि अस्पताल निर्माणका लागि आवश्यक जग्गाको व्यवस्था हुन सकेको थिएन ।

वि.सं.१९७० सालमा त्रिचन्द्र अस्पतालको नाममा खुलेको थियो । तत्कालीन राजा त्रिभुवन र प्रधानमन्त्री चन्द्र शम्सेरको पालामा खुलेको अस्पताल दशकौंसम्म १५ शय्यामा सीमित रह्यो । पछिल्लो समय मुस्किलले २५ शय्यामा सीमित रहेको अस्पताल अब एक सय वेडमा स्तरोन्नतिको क्रममा छ । यसका लागि भ्याटबाहेक २५ करोड २० लाखको लागतमा सुविधा सम्पन्न भवन निर्माणको क्रममा रहेको छ ।

प्रदेश सरकारको सहयोगमा आगामी २०८३ सालमा सम्पन्न हुने गरिसक्ने गरी धमाधम भवन निर्माणको कार्य जारी रहेको जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष निरेन तामाङले बताउनुभयो । अहिले यहाँ पाँच तले सुविधा सम्पन्न भवनको निर्माण कार्य भइरहेको छ । हाल अस्पताल निर्माणको करिव ४० प्रतिशत काम सम्पन्न भएको उहाँले बताउनु भयो ।