प्रचण्डका एक वर्ष : सत्ताको खेलमा गठबन्धन र मन्त्रीमण्डल परिवर्तनको कार्यसूचीले प्राथमिकता
राजनीतिक दलहरूप्रति नागरिकको वितृष्णा अझै चुलिँदै
काठमाडौं,२२ फागुन । सत्ता समीकरण फेरबदलका माहिर खेलाडी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले अस्थिर राजनीतिको उपयोग गर्दै सत्ताको खेलमा गठबन्धन र मन्त्रीमण्डल परिवर्तनको कार्यसूचीलाई प्राथमिकता दिएका छन् ।। उनले आइतबार राती प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटार बोलाएर एक वर्षअघिकै (२०७९ पुस १० को गठबन्धन) समीकरण पुनः ब्युँताएर जाने निर्णय लिए ।
संसद्को पहिलो ठूलो दल नेपाली कांग्रेस र दोस्रो एमालेलाई प्रयोग गर्दै प्रधानमन्त्रीको कुर्सी हात पारेका प्रधानमन्त्री प्रचण्डले २०७९ को आम निर्वाचनपछि तेस्रोपटक सत्ता गठबन्धन फेरबदल र १३ पटक मन्त्रीमण्डल पुनर्गठन गगरिसकेका छन् । गत वर्ष पुस १० मा एमाले, राप्रपा, रास्वपासहित पाँच दलको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले ६४ दिनमै उक्त गठबन्धन तोडेर निर्वाचनअघिकै कांग्रेस–माओवादी गठबन्धनलाई ब्युँत्याउनुभएको थियो । कांग्रेससँगको गठबन्धनमा नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, राजमो, जनमत, लोसपालगायत दलको समर्थन थियो ।
गत वर्ष चैत्र २५ मा भएको राष्ट्रपतिको निर्वाचनमा एमालेलाई राष्ट्रपति नदिएर गठबन्धन फेरेको माओवादीले यसपटक कांग्रेसलाई राष्ट्रियसभाको अध्यक्ष नदिने बहानामा गठबन्धन तोडेको हो । यद्यपि, यो खेलमा राष्ट्रियसभा अध्यक्षको मात्रै एजेन्डा थिएन । कोशी प्रदेशमा मुख्यमन्त्री बनाउँदा कांग्रेसका एक समूहबाट पाएको धोका, राष्ट्रियसभा निर्वाचनमा माओवादी उम्मेदवारले हारेको पीडा, कांग्रेसको महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काको प्रतिवेदनमा उल्लेखित ‘मुलुक माओवादीको दश वर्षे हिंसात्मक द्वन्द्वको चपेटामा परेको भन्ने वाक्यांश, सोही बैठकमा महामन्त्री गगन थापाको चुनावी गठबन्धन नगर्ने प्रस्ताव र कांग्रेस नेता शंकर भण्डारीले चलाएको हिन्दु राज्य घोषणाको अभियानसमेतले काम गरेको माओवादीका नेताहरूले जिकिर गरेका छन् ।
एक वर्षमै तीनपटक गठबन्धन परिवर्तन र १३ पटक मन्त्रीमण्डल विस्तार गरेका प्रधानमन्त्री प्रचण्डले पछिल्लोपटक हतारमा गरेको एमालेसँगको गठबन्धन कति टिक्छ भन्नेमा अन्योलता छाएको एमालेकै एकाथरी नेताहरूले बताएका छन् । दलहरुको यस्तो खेलले राजनीतिक दलहरूप्रति नागरिकको वितृष्णा अझै चुलिँदै गएको छ । सत्ताको खेलमा गठबन्धन र मन्त्रीमण्डल परिवर्तनकै कार्यसूचीलाई प्राथमिकता दिँदै आएका प्रधानमन्त्री प्रचण्डबाट देश र जनताका पक्षमा भाषणबाहेक अरू केही नआएको टिप्पणी शुरूभएको छ । सधैं सत्ता प्राप्तीलाई केद्रबिन्दुमा राखेर राजनीतिक चलखेलमा सक्रिय पुराना राजनीतिक दलहरूप्रति नागरिकको वितृष्णा बढिरहेको अवस्थामा पछिल्लो राजनीतिक घटनाक्रमले थप आशा जगाउन नसक्ने अवस्था सृजना भएको राजनीतिक विश्लेषक शंकर तिवारीले बताए ।
एक वर्षमा एमालेको पुनरागमन
नयाँ सत्ता समीकरण बनेसँगै संघदेखि प्रदेश सरकारसम्मबाट बाहिरिन पुगेको नेकपा एमाले ठिक एक वर्षपछि पुन सत्तामा फर्किएको छ । संघ सरकारबाट सत्ता यात्रा सुरु गरेको एमाले प्रदेशमा पनि पुग्नेछ । स्रोतका अनुसार औपचारिक सहमतिको ड्राफ्ट सार्वजनिक भइनसकेपनि अबको चार वर्षमध्ये प्रचण्ड र ओली दुई दुई वर्ष प्रधानमन्त्री हुनेछन् । त्यस्तै प्रदेश सरकारमा पनि सत्ता साझेदार दलहरूको विश्वास जित्दै सोही अनुसार समीकरण मिलाइने छ ।
नयाँ निर्वाचनपछि २०७९ साल पुस १० एमाले–माओवादीसहितका दल मिलेर बनेको गठबन्धन बिचमै तोडिएपछि एमाले सोही बर्षको फागुन १६ गते संघ सरकारबाट बाहिरिएको थियो । फरक यति हो त्यसबेला राष्ट्रपति निर्वाचनको संघार थियो भने अहिले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको सम्मुख छ ।
एक वर्षअघि माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले तत्कालीन समयमा एमाले, माओवादी, जसपा, रास्वपा र राप्रपासहितको गठबन्धन तोडेर चुनावताकाकै कांग्रेस नेतृत्वको गठबन्धन सम्हालेका थिए । उनले त्यसबेला फेरिएको समीकरण पाँचै वर्ष टिक्ने दाबी गरेका थिए । जसमा प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आलोपालो प्रधानमन्त्री हुने सहमति थियो ।
तीन गठबन्धन १३ पटक मन्त्रीमण्डल फेरबदल
आम निर्वाचन पछि चुनावी गठबन्धन तोड्दै एमालेको मुख्य सहयोगमा पाँच दलीय गठबन्धन बनाएर माओवादी अध्यक्ष प्रचण्डले ०७९ पुस ११ मा पहिलो पटक प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए । सोही दिन उनले नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल र रवी लामिछने सम्मीलित सानो मन्त्रीमण्डाल विस्तार गरेका थिए। यसबीचमा भएका विभिन्न राजनीतिक उतार चढावकाबीच प्रधानमन्त्री दाहालले सोमबार आफ्नो क्याविनेटमा १३ औं पटक मन्त्रीमण्डल पुर्नगठन गरेर आफुसहित चार सदस्य मन्त्रीपरिषद बनाएका छन् ।
यस अघि उनले ०७९ माघ १० मा दोस्रो पटक, माघ १४ मा तेस्रो, माघ २३ मा चौथो, फागुन १४ मा पाँचौ, फागुन १६ मा छैटौं, चैत्र १७ मा सातै पटक मन्त्री मण्डल विस्तार गरेका थिए । त्यस्पछि ०८० बैशाख ३ मा आठौं, बैशाख २१ मा नवौं, बैशाख २४ मा दशौं, जेठ ९ मा एघारौं र साउन २८ मा बाह्रौ पटक मन्त्री परिषद विस्तार गरेका दाहालले एमालेसँगको पुर्नमिलन गठबन्धन पश्चार सोमबार १३ औं पटक मन्त्री परिषद पुनर्गठन गरेका हुन् । नयाँ समीकरणमा शक्ति बाँडफँटका विषयमा विवाद शुरुभएसँगै उनको मन्त्रीमण्डलले पूर्णता पाउन अझै केही समय लाग्ने देखिएको छ ।


प्रतिक्रिया दिनुहोस