हाम्राे नेपाली पार्टी भित्र विवाद देखिएसंगै बागमती सरकार संकटमा

धनकुटा एफ. एम.
१७ चैत २०८०, शुक्रवार

हाम्राे नेपाली पार्टी भित्र विवाद देखिए संगै बागमती सरकार संकट पर्ने अबस्थामा पुगेकाे छ । हाम्राे नेपाली पार्टीले शुक्रबार पत्रकार सम्मेलन गरेर नेकपा माओवादी केन्द्र का संसदीय दलका नेता शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने बताएको छ।

‘चैत ३ र ४ गते बसेको केन्द्रीय कमिटी बैठकले बागमती प्रदेशमा वर्तमान गठबन्धनको पक्ष र विपक्षमा नलाग्ने, देश र जनताको पक्षमा लाग्ने निर्णय गरेको थियो। बागमतीको नेतृत्व गर्न हामी तयार रहेको जानकारी पनि गराएका थियौं । ‘तर हाम्रा सांसद शैलेन्द्रमान बज्राचार्य राजनीतिक अपहरणमा पर्नुभयो र अचानक मन्त्री बन्नुभएछ । हानेपा सरकारमा सहभागी हुने खबर सञ्चार माध्यमहरूमा आएलगत्तै आफूहरू हेटौंडा पुगेको तर सांसद बज्राचार्यले मोबाइल अफ् गरेर मन्त्रीको शपथ लिइहालेको बताए। हामीले मन्त्रीबाट फिर्ता हुन र समर्थन नगर्न भनिसकेका छौं । फिर्ता हुनु भएन भने मन्त्री बज्राचार्यलाई कारबाहीको तयारी भइरहेको र यसबारे केन्द्रीय कमिटीले नै आवश्यक निर्णय गर्ने तयारी रहेकाे छ ।

बागमती प्रदेशमा हानेपाको २ सांसद रहेका छन्। बज्राचार्य बिहीबार संस्कृति पर्यटन तथा सहकारी मन्त्री नियुक्त भएका थिए। बज्राचार्यले बिहीबार साँझ नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। हानेपाभित्र विवाद चुलिएपछि माओवादी केन्द्र नेतृत्वको बर्तमान सरकार पुनः संकटमा परेको छ।

११० सदस्यीय बागमतीमा बहुमतका लागि ५६ सांसद चाहिन्छ। नेकपा एमाले का २७, माओवादीका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्। बागमतीमा कांग्रेसका ३७, राप्रपाका १३, नेपाल मजदुर किसान पार्टी ३ सांसद छन्।