दुई सहकारी ठगीका नाइके कांग्रेस नेता सीबी लामा सार्वजनिक

धनकुटा एफ. एम.
२१ जेठ २०८१, आइतबार

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका चन्द्रबहादुर लामा (सीबी) ले आफूमाथि अनर्गल प्रचार गरिएको जिकिर गरेका छन् ।

पक्राउ परेको २ दिनपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई सार्वजनिक गरेको छ । काभ्रेका लामा नेपाली कांग्रेस महासमिति सदस्य हुन् । पत्रकारमाझ उनले बारम्बार अनुहार देखाउनु परे मास्क खोलिदिन तयार भएको बताए ।

‘मास्क खोलिदिनुपर्छ भने म खोल्छु । तपाईँहरूले पनि त चिन्नुपर्‍यो’, उनले भने ।

करिब डेढ अर्ब रुपैयाँ ठगी गरेको कान्तिपुर सहकारीको पूर्वअध्यक्षका रुपमा लामा पक्राउ परेका हुन् । उनी २०५६ देखि २०७६ सम्म उक्त सहकारीको अध्यक्ष रहेको प्रहरीको भनाइ छ । त्यसबीचमा उनी पशुपति सहकारीको पनि अध्यक्ष थिए ।

सरकारले दुईवटा सहकारीको अध्यक्ष एकै व्यक्ती हुन नपाउने व्यवस्था गरेपछि २०७६ सालमा उनले कान्तिपुरको अध्यक्ष छाडेका थिए । यसबीचमा उनी कान्तिपुर अस्पताल र कान्तिपुर हेल्थ साइन्स कलेजका पनि अध्यक्ष रहेका थिए । आफूमाथी ठुलो बिगो देखाएर झूटो प्रचार गरिएको उनको दाबी छ ।

‘राम्रोसँग फोटो खिच्नुस् । अब चाहीँ मैले न्याय पाउँछु जस्तो लागेको छ’, उनले भने । लामाले मास्क खोल्न खोज्दा प्रहरीले दिएका थिएनन् ।