छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं, ६ साउन -हुम्ला, चंखेली गाउँपालिका-२ रानीसरास्थित सडकमा रानीसराबाट गौरीसल्लातर्फ जाँदै गरेको भे.२ त १७७२ नम्बरको ट्याक्टरमा ठोक्किएर सर्केगाड गाउँपालिका-७ बस्ने धनकृष्ण जैशीको छोरा १२ वर्षीय दिपेश जैशीको शनिबार दिउँसो मृत्यु भएको हो । ट्याक्टरको पिछा गरी दौडने क्रममा चालकले ब्रेक लगाउँदा ट्याक्टरको ट्रलीको पछाडिको भागमा ठोक्किँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । काभ्रे, मण्डनदेउपुर नगरपालिका-११ चाँखोला पुलमा कुन्ताबेशीबाट पाँचखालतर्फ जाँदै गरेको बा.३५ प ३१४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-११ जैसी टोल बस्ने २६ वर्षीय मिलन काफ्लेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोरङ, उर्लाबारी नगरपालिका-४ बक्राहास्थित सडकमा पथरीबाट उर्लाबारीतर्फ जाँदै गरेको मे.१ ख २३६३ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-२ सुनझोरा बस्ने ६५ वर्षीय गज धिमालको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको अरनिको अस्पताल हुँदै बिएण्डसि अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्की, पोखरा महानगरपालिका-६ हल्लन चोकमा ग.३ च ५४३७ नम्बरको हाईलक्स र ग.११ प ९१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही महानगरपालिका-८ बस्ने २६ वर्षीय ईश्वर परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । हाईलक्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस