१५ दिन लामो भलिवल उत्सव सकिएलगत्तै चुलियो विवाद, ४ खेलाडीलाई २ वर्षको लागि प्रतिवन्ध

धनकुटा FM
२२ वैशाख २०८२, आइतबार

धनकुटा । १५ दिन लामो भलिवल उत्सव सकिएलगत्तै अनुशासनहीन गतिविधि गरेको भन्दै धनकुटामा चार खेलाडीमाथि कारबाही गरिएको छ ।

जिल्ला भलिबल संघ धनकुटाले अनुशासनहीन गतिविधि गरेको भन्दै चार खेडालीलाई २ वर्षसम्म कुनै खेल खेल नपाउने गरी कारबाही गरेको हो ।

भलिबल संघको आयोजनामा सञ्चालन भएको भलिबल उत्सव तथा पालिकास्तरीय महिला भलिबल तथा वडास्तरीय पुरुष भलिब प्रतियोगिताका क्रममा नाराबाजी तथा खेल अनुशासन विरुद्धका गतिविधि गरेकाले ४ जनालाई कारबाही गरिएको संघले जनाएको छ ।

कारबाही गरिएका खेलाडीमा टिम कोच सुजन पौडेलसहित सन्तोष निरौला, नरेशजंग थापा र सुजन तामाङ रहनुभएको छ । कारबाहीमा परेकाहरुलाई धनकुटामा आधिकारिक रुपमा हुने जिल्ला, पालिका, वडा तथा विद्यालयस्तरको राष्ट्रपति रनिङ शिल्डमा समेत सहभागी हुन प्रतिबन्ध लगाएको छ ।

संघको आज बसेको बैठकले जिल्ला खेलकुद विकास समिति र कोशी प्रदेश भलिबल संघलाई बोधार्थ दिएर कारबाहीको गरेको छ । कारवाही गरिएका खेलाडी प्रदेश स्तरका खेलाड हुन् ।

वैशाख १८ गते महालक्ष्मी नगरपालिका–४ र महालक्ष्मी नगरपालिका–३ बीच खेल भएको थियो । जसमा उपविजेता बनेको महालक्ष्मी–३ का खेलाडीहरूले आयोजक जिल्ला भलिबल संघ धनकुटामाथि अराजक गतिविधि गरेको आरोप छ । खेल मैदानमा प्रवेश गरेर नाराबारी र खेल रोक्ने प्रयास गरेको गरेकोले जिल्ला भलिबल संघ धनकुटाले दुई वर्षसम्मका लागि उनीहरुमाथि कारबाही गरिएको संघका अध्यक्ष गौरव कार्कीले बताउनुभयो ।

भक्तबहादुर परियार र कुबेर बुढाथोकी जिल्लाकै खेलाडी भएको टुंगो भएपछि खेल खेलाउँदा महालक्ष्मी–३ का खेलाडीले खेल नै अवरोध गरेका थिए । उनीहरुकै कारण सो दिनको खेलसमेत स्थगित भएको थियो । तर खेलाडीले खेलको नियम विपरित आयोजक माथि नै जाइलाग्ने प्रयास गरेपछि बाध्य भएर कारवाही गरिएको कार्कीले बताउनु भयो ।

यता, महालक्ष्मी–३ का वडाध्यक्ष समेत रहनुभएका टिम मेनेजर भरत थापाले जिल्ला भलिबल संघले हतारमा यस्तो निर्णय गरेको भन्दै आपत्ति जनाउनुभएको छ । यसले खेलाडीहरूको भविष्यमाथि नै असर पर्ने भएकाले तत्काल सच्याउन आग्रह गर्नुभयो ।