धनकुटाका विभिन्न स्थानबाट ४३ केजी गाँजासहित ४ जना पक्राउ
धनकुटा । आज एकै दिन धनकुटाका विभिन्न स्थानहरुबाट ४३ केजी गाँजा बरामद गरेको छ भने ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले धनकुटा नगरपालिका वडा नं. ९ बस्ने ५१ वर्षीय राजु राईलाई कार्टुनमा २८ केजी गाँजासहित पक्राउ गरेको छ ।
आज दिउँसो धनकुटा नगरपालिका वडा नं. ९ मुलघाट स्थित कोशी लोकमार्गमा साप्टिङटारबाट धरानतर्फ जाँदै गरेका पैदलयात्री राईले कार्टुनमा २८ केजी गाँजा लिएर तमोर नदीको पुलमा गाडी कुरी रहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
प्रहरी चौकी मुलघाटबाट खटिएको गस्ती टोलीले शंका लागी जाँच गर्दा राईको साथबाट २८ केजी गाँजा फेला पारेपछि सो गाँजासहित नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी प्रहरीले आज साँझ ६ः४५ बजे धनकुटाको साँगुरीगढी गाँउपालिका वडा नम्बर ६ भेडेटार चोकमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको चेकिङ टोलीले ३ जनालाई गाँजासहित नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरेको छ ।
प्रहरी टोलीले संखुवासभाबाट दमक जाँदै गरेको प्रदेश नम्बर १-०२-००१ ज ४६५९ नम्बरको इभी गाडीमा सवार धनकुटाको शहीदभूमि गाँउपालिका वडा नम्बर २ बस्ने २२ वर्षीय सन्तोष दर्जीले बोकेको हेण्डब्यागमा रहेको १२ केजी गाँजा बरामद गरेको छ ।
त्यसैगरी भोजपुरबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश नं १-०२-००१ ज ४४०९ नम्बरको इभि गाडीमा सवार मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं. १० बस्ने २६ वर्षीय जयराम सरदार र सोही स्थानका १८ वर्षीय सुदिप सरदारको हेण्डब्यागबाट अन्दाजी ३ केजी गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएपी ओमप्रकाश खनालले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस