धनकुटा पुरुष सञ्जाल गठन गरिने

धनकुटा एफ. एम.
९ जेठ २०८२, बिहिवार

धनकुटा । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यमा महिला र पुरुषसँगसँगै जुट्नु पर्ने उदेश्यका साथ धनकुटा पुरुष सञ्जाल गठन गरिने भएको छ ।

यसका लागि धनकुटा नगरपालिका लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना कार्यान्वयन ईकाई लगायतको आयोजनामा पुरुष सञ्जाल सदस्यलाई क्षमता अभिवृद्धि तथा परियोजना अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ ।

हिजो र आज सञ्चालन गरिएको कार्यक्रममा धनकुटा नगरपालिका भित्रका सबै वडाका गरि ३५ सदस्यलाई तालिम दिईएको परियोजनाका फोकल पर्सन नुषराज श्रेष्ठले जानकारी दिनुभयो ।

तालिमको अध्यक्षता नगरप्रमुख चिन्तन तामाङले गर्नु भएको थियो । उक्त अवसरमा सञ्जोक ठकुरीले प्रशिक्षण दिनु भएको थियो। यस्तै उपप्रमुख भीमादेवी खनाल र सहभागीको तर्फबाट द्रोणप्रसाद गुरागाईँ लगायतले धारणा राखेका थिए ।

पुरुष सञ्जाल गठनका लागि धनकुटा नगरपालिकाले राजपत्र मार्फत कार्यविधि समेत तयार गरेको छ । पुरुष सञ्जाल भने केही दिनपछि विशेष बैठक मार्फत गठन गरिने जनाइएको छ ।