बाढीले फेदी सडक बगाएपछि निमाविको परिक्षामा सहभागी बन्न हिडेका झण्डै ७ सय परिक्षार्थी अलपत्र

धनकुटा FM
१८ जेठ २०८२, शनिबार

धनकुटा । गएरातीदेखि धनकुटामा भएको भिषण वर्षाले कोशी लोकमार्ग अन्तर्गत फेदीमा सडक बगाएपछि परिक्षा दिने परिक्षार्थीहरु समस्यामा परेका छन् ।

गए राती परेको अविरत वर्षले धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ लेउती खोलाले फेदीमा रहेको कोशी लोकमार्ग अन्तर्गत फेदिमा झण्डै एक सय मिटर सडक बगाएको छ । सो सडक बगाएपछि शिक्षक सेवा आयोगको निम्न माध्यमिक तहको परिक्षामा सहभागी बन्न हिडेका धनकुटाका झण्डै ७ सय परिक्षार्थी अलपत्र परेका छन् ।

निम्न माध्यमिक तहको परिक्षामा सहभागी बन्न धनकुटाबाट करिव ७ सय जना परिक्षार्थी धरान, इटहरी, इनरुवा र विराटनगरतर्फ जाँदै थिए । तीमध्ये अधिकां परिक्षार्थी बीच बाटोमा अलपत्र परेका छन् । झण्डै आधा परिक्षार्थी धनकुटा बसपार्कमै अलपत्र परेका छन् ।

धनकुटाबाटनेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पस इकाईले मात्रै सो परिक्षामा सहभागीहरुलाई २ वटा बसबाट परिक्षा केन्द्रतर्फ लैजाँदै थियो । नेविसंघ क्याम्पस इकाई सभापति सुवास खनालका अनुसार परिक्षा दिन हिडेका परिक्षाथीृहरु बाटोमा अलपत्र परेका छन् । आज दिउँसो १ बजेदेखि परिक्षा भएका कारण कतिपय परिक्षार्थी हिडेर गइरहेका छन् ।

बाढीले सो सडक बगाएसँगै कोशी राजमार्ग पूरै अवरुद्ध भएको छ । बाढीले सडक बगाएपछि यातयात बन्द भएको छ । सडक बगाएपछि कोशी पहाडी जिल्लामा यातयातका साधन अवरुद्ध भएको छ ।

कोशी राजमार्ग हुँदै पहाडी जिल्लाहरु धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभासम्म यातायातका साधान सञ्चालन हुने गरेको छ । केही वर्षअघि पनि सोही सडक खण्ड खोलाले बगाएको थियो ।

त्यसैगरी गएरातीदेखि परेको भारी वर्षाका कारण तमोर करिडोर पनि अवरुद्ध भएको छ । तमोर करिडोर सडक अन्तर्गतका सडकमा ठाउँठाउँमा पहिरो गएको प्रहरीले जनाएको छ । चौविसे गाउँपालिकाको छरुवा खोलामा आएको बाढीले सडक बगाएको छ ।