अविरल वर्षाले अवरुद्ध कोशी राजमार्ग झण्डै १५ घण्टापछि एकतर्फी रुपमा सुचारु, धनकुटाका अन्य सडकहरु अझैं अवरुद्ध

धनकुटा FM
१८ जेठ २०८२, शनिबार

धनकुटा । कोशी राजमार्गअन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका -६ फेदीमा लेउती खोलाले बगाएर अवरुद्ध सडक आज साँझ सवा ६ देखि एकतर्फी सञ्चालनमा आएको छ ।

नेपालमा मनुसन भित्रिए लगत्तै बाढी पहिरोको त्रास बढेको छ । गएराती परेको भारी वर्षाले कोशी प्रदेशका धनकुटा, सुनसरी, इलाम र उदयपुर गरी ४ जिल्लामा सडक अवरुद्ध बनेको छ ।

गएरातीदेखि धनकुटामा भएको भिषण वर्षाले कोशी राजमार्ग दिनभरअवरुद्ध भएको छ । गए राती परेको अविरत वर्षले धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ लेउती खोलाले फेदीमा रहेको कोशी राजमार्गको सडक झण्डै एक सय मिटर बगाएको छ ।

बाढीले सो सडक बगाएसँगै बिहानदेखि नै कोशी राजमार्ग पूरै अवरुद्ध भएको थियो । अहिले साँझ साँझ ६ः१० बजे एकतर्फी रुपमा खुलेको जिल्ला प्रहरी कार्यालय धनकुटाका निमिक्त सुचना अधिकारी ध्रुव नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

सो क्षेत्रमा अहिले एकतर्फी रुपमा सवारी साधनहरु सञ्चालनमा आएका छन् । धनकुटाका अधिकांस सडकहरु एकतर्फी रुपमा भए पनि खुलाइएको धनकुटाका प्रमुख जिल्ला अधिकारी टुबराज पोख्रेलले जानकारी दिनु भयो ।

कोशी राजमार्ग हुँदै पहाडी जिल्लाहरु धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभासम्म यातायातका साधान सञ्चालन हुने गरेको छ । केही वर्षअघि पनि सोही सडक खण्ड खोलाले बगाएको थियो ।

यता, धनकुटाकै साँगुरीगढी गाउँपालिका–६ स्थित नमस्ते झरना छेउमा पहिरो झर्दा कोशी लोकमार्ग अवरुद्ध बनेको छ । भेडेटार रवि राँके सडक अन्तर्गत साँगुरीगढी गाउँपालिका ५ डाँडाबजार, लुम्फाजुङ, कुहिभिर र ढाडे डाँडामा पहिरो गएको छ । जुसका कारण रवि–राँके सडक अवरुद्ध बनेको छ । धनकुटाकै चौबिसे गाउँपालिका–४ मा निर्माणाधीन सडक खण्डको छरुवा खोलामा बाढी आउँदा तमोर करिडोर अवरुद्ध बनेको छ ।

बाढी र नदी कटानले धनकुटा, सुनसरी, इलाम र उदयपुरका विभिन्न सडक खण्ड अवरुद्ध बनेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । इलामको माई नगरपालिका–७ मा महमाई–इलाम–लारुम्बा पक्की सडक खण्डमा पहिरो खसेको छ । सो सडकखण्डमा एकतर्फी रुपमा मात्र यातायात सञ्चालनमा आएको छ ।

त्यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका १ नयाँ पुल खोलामा पहिरो झर्दा चतरा–बराहक्षेत्र सडक अवरुद्ध भएको छ । उदयपुरमा बेलका नगरपालिका–८ कोठु खोलामा कच्ची सडक खण्डमा पहिरो झर्दा मैनामैनी–चुहार–भोजपुर सडक अवरुद्ध बनेको छ ।

स्तरोन्नति भइरहेको पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा गए रातिको अविरल वर्षापछिको बाढीले निर्माणाधीन ‘एसियन हाइवे’ का तीन वटा डाइभर्सन बगाएको छ ।

झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन् । मनसुन सुरू भएसँगै गए राति माईखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ सरेका छन् ।