एसइईमा धनकुटाकै सबैभन्दा बढी ९१ प्रतिशत ल्याउने गोकुण्डेश्वर माविद्धारा शिक्षक र विद्यार्थी सम्मानित

धनकुटा FM
१९ असार २०८२, बिहिवार

धनकुटा । माध्यमिक शिक्षा परिषद्ले लिएको २०८१ को माध्यमिक शिक्षा परीक्षा एसइईमा धनकुटा जिल्लामै सबैभन्दा बढी अंक ल्याउने धनकुटाको गोकुण्डेश्वर माध्यमिक बिद्यालयले आफ्ना शिक्षकहरुलाई सम्मान गरेको छ ।

यस वर्षको एसइईमा धनकुटा नगरपालिका वडा नं. ६ मा रहेको गोकुण्डेश्वर माध्यमिक विद्यालयबाट ३३ जनाले एसइईमा सहभागी भएकोमा ३० जना विद्यार्थी उत्तीर्ण भएका छन् । जसका कारण पनि धनकुटामै सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउने विद्यालय बनेको छ । माथिल्लो गोकुण्डेश्वरले एसइइमा ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण गर्न सफल भएपछि विद्यालयले शिक्षक र विद्यार्थीलाई सम्मान गरेको छ ।

धनकुटाबाट यो वर्ष ७४ वटा सामुदायीक विद्यालयले माध्यमिक शिक्षा परीक्षा एसइईमा सहभागीता जनाएका थिए । ती सबै विद्यालयहरुबाट सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउन सफल भएको भन्दै विद्यालय व्यवस्थापन समितिले आज शिक्षकहरुलाई सम्मान गरेको छ ।

विद्यालय व्यवस्थापन समितिले बिद्यालयका प्रधानाध्यापक यज्ञप्रकाश चापागाई, लक्ष्मी प्रसाद सापकोटा, खगेन्द्र श्रेष्ठ, भोलानाथ भट्टराई, बिश्वराज गौतम, जुनु घिमिरे, तुलसी पुरी, शान्ता ढकाल, यशोदा सुवेदी, भक्त बहादुर खड्का, लक्ष्मी अधिकारी, रिना लुइँटेल, गंगाराम ढुंगाना र चन्द्रप्रसाद गुरागाई दोसल्ला ओढाई सम्मान गरेको हो । सो अवसरमा धनकुटा नगरपालिकाको शिक्षा शाखा प्रमुख रमेश दाहाललाई विद्यालयले सम्मान गरेको छ ।

गोकुण्डेश्वर माध्यमिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष उत्तम खड्गीको सभापतित्वमा भएको सो कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्म उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कार बितरण गरिएको छ भने छात्रवृत्ति पनि बितरण गरिएको छ ।

सो कार्यक्रममा धनकुटा नगरपालिकाको शिक्षा शाखा प्रमुख रमेश दाहाल, उद्योग वाणिज्य संघ धनकुटाका वरिष्ठ उपाध्यक्ष तारा तितुङ, नेपाल राष्ट्रिय अभिभावक संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुन्दरबाबु श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

सो कार्यक्रम विद्यालयका सुचना अधिकारी गंगाराम ढुंगानाले सञ्चालन गर्नु भएको थियो ।