धनकुटा ३ कागतेमा पहिलोपटक टेलिमेडिसिन सेवा शुरु

धनकुटा FM
२५ असार २०८२, बुधबार

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ३ मा पहिलोपटक टेलिमेसिन सेवा शुरु भएको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्राविधिक सहयोगमा धनकुटा ३ अन्तर्गत रहेको शहरी स्वास्थ्य क्लिनिक पात्ले तथा शाखा केन्द्र स्याउलेमा अनलाईन वा भिडियो कलमार्फत स्वास्थ्य उपचार गर्न कार्य आजदेखि शुरु भएको हो ।

विशेषज्ञ डाक्टरको परामर्श, प्राथमिक उपचार सम्बन्धी जानकारी, रोग निदानको परामर्श, औषधि सम्बन्धी सल्लाह लगायतका स्वास्थ्य सेवा दिने उदेश्यले धनकुटा नगर क्षेत्रभित्र पहिलोपटक टेलिमेसिन सेवा शुरु भएको हो ।

सो सेवा प्रत्येक बुधबार हुनेछ । आज पहिलो दिन ३६ जनाले यो सेवा लिएको धनकुटा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरेले जानकारी दिनुभयो ।

सेवाबाट टाढा रहेका नागरिकहरुलाई आफ्नै गाउँ घरबाट डिजिटल माध्यममार्फत स्वास्थ्य सेवा प्राप्त गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।